
गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ
भर्खरै पलाउन लागेका हाँगाहरुलाई छिप्पेका हाँगाले आफूतर्फ बढ्न दिएनन् । आफू बलियो छु भन्ने अहंकारले उनीहरू गजक्क पाकेका थिए । आफ्नो आश्रयमा ती कलिला हाँगा बाँचिरहेका छन् भन्ने घमण्डले ती पाकेका थिए।
समय बित्दै गयो । छिप्पेका हाँगाहरु कलिला हाँगाहरुले छोपिदै गए । तिनका पातहरुले उनीहरुलाई घामपानीबाट बचाउन थाले।
एकदिन कलिलाबाट छिप्पिन सुरु गरेका दुईवटा हाँगाहरुको कुराकानी चल्यो।
“यी छिप्पेका बुढा हाँगाहरुले पहिला हामीलाई कति धेरै हेप्थे । अहिले त हामीबाटै सुरक्षा पाउनुपर्ने रहेछ नि ।” पहिलो हाँगाले भन्यो।
दोस्रो हाँगाले भन्यो, “ भो भो ,धेरै घमण्ड नगर । एउटै घरमा बसेर पनि मनमा इख पाल्यौँ भने ती बुढा हाँगा र हामीमा के फरक ? ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गो भन्ने थाहा छैन तिमीलाई ?”





