मजबुरी

कृष्णा कृति
माछोङ, पाकिम सिक्किम

अँगेनाको डिल वरिपरि तातोमा बसेका नानीहरू उँघ्न थालेका थिए। आँखाको इशारा गर्दै ठुलीतिर पुलुक्क हेरेर छेउमा भर्सीरहेको भात पस्केर नानीहरूलाई दिन ठुलेले अराए। साँझमा गफ गर्न आएका गाउँले दाजुभाइ नगएसम्म सबैका अघि भात पस्किन ध्यान दिइरहेकी थिइनन् ठुलीले। नानीहरू अझ नखाइ निदाउँछन् भनेर उनीहरूलाई मन पर्ने कुरा गर्दै हसाउँदै थिइन्। भान्सा सेलाउँछ कि भनेर अझ भुङग्रो तान्दै भाँड़ामुनि हाल्दै थिइन्।
बाटो घाटो बन्द भएको, चुहिँदो झरीले खेताला पात गर्ने कुनै उपाय थिएन ठुलेको। साग-सब्जी पानी बेसी भएर खुइलेकोले बेच्ने अवस्थामा थिएनन्। खानलाई थाङग्रामा रहेको मकै सिवाय केही थिएन। यस्तै हात्तीसुँड़ी पानी परिरहे अर्को पालिको बिउ नि सकिने रहेछ भनेर सुर्ता गर्थी ठुली। ‘जैले मकैको भात्’ भनेर मुख बिगर्थे नानीहरू। गाउँले गएपछि ठुले ठुलो स्वरमा करायो ‘हेर नानीहरू सुत्न लागे, किन भात नदिएको? आफूलाई पनि बिहान् खाएकोले छोडी सक्यो।’
मलिन् स्वरमा ठुलीले भनिन् ‘अनि पस्किनै अफ्ठ्यारो लाग्यो, कसरी पस्कनु सबैको छेउमा। जहिले मकैको भात खाँदा रहेछन् भन्छन्।’
‘अरे बजारको किनेर खाने चाहिँ राम्रो! हामी आफ्नै बारीको जैविक खाने चाँहि गरीब? फेरि ठुले चर्को स्वरमा बम्कियो। कसरी यस्तो सोचेको तिमीले ? मान्छे स्वास्थ्यमा सचेत भई कोदो र मकै मात्र खाएको वर्षौँ भयो भन्छन्। हाम्रोमा अरू अन्न छैन भनेर तिमीलाई त्यस्तो लागेको मात्र। हामी अरूभन्दा स्वस्थ्य छौँ, हाम्रो जस्तो काम गरेर देखाओस त कसैले। कसले के भन्छ म दिन्छु जवाब।’
ठुली पानी नै हुन्छिन्, ठुले रापिएको देखेर। ठुलीले गलामा गाँठो पारेर रुञ्चे स्वरमा भनिन्, ‘स्वास्थ्यको लागि कहिलेकाहीं खानेको त ‘अर्गानिक’ भन्छन् तर हामी गरीबले दिनहुँ खाए त खानै नभएरै बुझ्छन् नि। कुरा गर्ने यही समाजका थाङ्ने छँदैछन् नि।’