महाकवि कालिदास

 

सागर

संस्कृत साहित्य एक महासागर हो, जहाँ अनेक रत्नहरू पाइन्छन् । ती रत्नहरूमध्ये महाकवि कालिदासको विशिष्ट स्थान छ। उनलाई संस्कृत साहित्यको पर्यायका रूपमा सजिलै लिन सकिन्छ । संस्कृत साहित्यका महान् प्रतिभा आदिकवि वाल्मीकिले जुन रूपमा सफलता पाएका छन् त्यही सफलताको शिखरमा विश्वकविका रूपमा महाकवि कालिदास पनि स्थापित भएका छन् ।
कालिदासको जन्म लगभग २०५० वर्ष अगाडि भारतको उज्जैनमा भएको हो भन्ने विश्वास गरिएको छ । कालिदासको पारिवारिक परिचय पाउन सकिएको छैन । उनी महामूर्ख थिए भन्ने किंवदन्ती प्रचलित छ । सामान्य परिवारमा जन्मिएका, लेख पढको वातावरण नपाएका र मुख्र्याई गर्ने भएका कारणले उनलाई महामूर्ख भनिएको हुन सक्छ।
उनी कतिसम्म महामूर्ख थिए रे भने रूखका हाँगाका टुप्पातिर आफू बसेर फेदतिर काटी त्यसलाई ढाल्न तम्सिएका थिए भन्ने भनाइ छ । यस्तो मूर्ख बालक पछि गएर संस्कृत साहित्यको महाकवि भएर विश्वकविका रूपमा संसारमा प्रख्यात होला भनेर त्यसबेला कसैले कल्पनासम्म पनि गर्न सक्दैनथ्यो । “हुने हार दैव नटार” यो भनाइ उनका जीवनमा चरितार्थ भएको पाइन्छ।
विद्योत्तमा नामकी एउटी राजकुमारी अत्यन्त विदुषी थिइन् । उनमा विद्वताको निकै घमन्ड पनि थियो । यसैले राजकुमारीको सेखी झार्न मन्त्रीहरूले उनको विवाह महामूर्ख कालिदाससँग गराइदिए । त्यही घटनाले कालिदासको जीवनमा परिवर्तन ल्यायो।
विद्योत्तमासँगको वार्तालापमा उनले ‘उष्ट्र’ शब्दको उच्चारण गर्न नजानेर बारम्बार ‘उट्र उटू’ भने । त्यस्तो अशुद्ध उच्चारण गरेका आधारमा कालिदास पत्नीबाट अपमानित हुनुपरेको थियो । पत्नीको तिरस्कार उनलाई प्रेरणा बन्यो। उनी विद्याको भोकले ‘भौंतारिए र कालीका भक्त भए । कालीका मन्दिरमा जिब्रो काटेर अर्पण गर्न उद्यत भएको देखेर काली प्रसन्न भई उनलाई विद्याको वरदान दिइन् । कालीका दास भएका आधारमा नै उनको नाम पनि कालिदास रह्यो । कालिदास नामले नै उनले संस्कृत भाषामा अनमोल साहित्यिक कृतिहरूको रचना गरे।
महाकवि कालिदासले श्रव्यकाव्य र दृश्यकाव्य दुवैमा समानरूपले सफलता हासिल गरेका छन् । श्रव्यकाव्य र दृश्यकाव्य गरी काव्यका दुई भेद मानिन्छन् । श्रव्यकाव्यमा कविता वा काव्य पर्दछ भने दृश्यकाव्यमा नाटक पर्दछ। ‘कुमारसम्भव’, ‘रघुवंश’, ‘ऋतुसंहार’, ‘शृङ्गारतिलक’, ‘मेघदूत’ महाकवि कालिदासका प्रसिद्ध श्रव्यकाव्य हुन् भने ‘विक्रमोर्वशीय’, ‘मालविकाग्निमित्र’ र ‘अभिज्ञान शाकुन्तलन् उनका दृश्यकाव्य हुन् । उनका श्रव्यकाव्यहरूलाई पनि महाकाव्य र खण्डकाव्यका रूपमा वर्गीकरण गर्न सकिन्छ ।’कुमारसम्भव’ र ‘रघुवंश’ महाकाव्य अनि ‘ऋतुसंहार’,’शृ‌ङ्गारतिलक’ र ‘मेघदूत’ खण्डकाव्य हुन् । महाकवि कालिदासका खण्डकाव्यहरूलाई गीतिकाव्यका रूपमा पनि लिन सकिन्छ।
कालिदासका यी कृतिहरूमा मानवीय जीवनको यथार्थ वर्णन छ । मानवीय मूल्य र जीवनका शाश्वत पक्षहरूको चित्रण छ र यिनमा मान्छेको उज्यालो पक्षको कामना गरिएको छ । यस्ता वर्णनमा उनको कला अत्यन्त तिक्खर बन्न पुगेको छ र शैलीगत माधुर्यका दृष्टिले उनी अत्यन्त सम्मानयोग्य कविका रूपमा स्थापित हुन पुगेका छन्।
महाकवि कालिदासका रचनाहरूमा “सत्यम्, शिवम्, सुन्दरम्” को भावना पाइन्छ । उनका साहित्यिक रचनामा मनोविज्ञानको पनि प्रयोग भएको पाइन्छ । उनी प्रकृतिप्रेम र शृ‌ङ्गारलाई साहित्यको विषयवस्तु बनाएर अभिव्यक्त गर्नमा असाध्यै सिपालु थिए। महाकवि कालिदासले उनका प्रत्येकः साहित्यिक कृतिहरूमा उपमा अल‌ङ्कारलाई सफल रूपमा प्रयोग गरेका छन् । त्यसैले नै “उपमा कालिदासस्य” भन्ने भनाइ प्रसिद्ध रहेको छ।
महाकवि कालिदासका कृतिहरूं आज विश्वका सबै प्रमुख भाषामा अनुवाद गरिएका छन् । उनका साहित्यिक रचनाहरू विश्व साहित्यका अनमोल कृति मानिन्छन् । साहित्यका अध्येताहरू उनीप्रति सम्मान गर्दै उनका कृतिहरूको सगौरव अध्ययन गर्दछन्। यही नै महाकवि कालिदासप्रति पाठकहरूबाट गरिएको ठूलो सम्मान हो।