शून्यको यात्री र रित्तो सेतो छडीको रोदन


रोजिना घिमिरे

अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले मलाई ‘प्राज्ञिक सन्तान’ भनिरहँदा मेरो छातीभित्र गर्वको सगरमाथा होइन, लज्जाको एउटा निकै ठूलो पहिरो खसिरहेको हुन्छ। मलाई थाहा छ, मेरो उपस्थितिले तपाईंको बौद्धिक एकान्तलाई बिथोल्छ। मलाई थाहा छ, मेरो यो सेतो छडीको आवाज तपाईँको कानमा कुनै सुमधुर सङ्गीत होइन, बरु एउटा बोझिलो र लाचार नियतिको कर्कश ढ्याङ्ग्रो बनेर ठोक्किन्छ। तपाईँले मलाई हेर्दा एउटा भविष्यको प्रज्वलित दियो होइन, एउटा यस्तो निभ्न लागेको सलेदो देख्नुहुन्छ, जसमा तेल थपिदिने झन्झटिलो र जबरजस्तीको जिम्मेवारी पनि मेरै गुरुको काँधमा आइलागेको छ। तपाईँ भन्नुहुन्छ नि— म एउटा ‘बिचौलिया’ बनेको छु। गुरु, विश्वास गर्नुस्, तपाईंलाई एउटा ‘लेखन सहयोगी’ खोज्ने ‘एजेन्ट’ बनाउनु पर्दा मेरो आफ्नै स्वाभिमान कति पटक हजार टुक्रा भएर फुट्छ होला, त्यसको हिसाब कुन गणितले राख्न सक्छ र? म त चाहन्थेँ आफ्नै मस्तिष्कको उर्वर भूमिमा फलेका विचारका दानाहरूलाई आफ्नै पसिनाले भिजेका औँलाहरूले कागजको छातीमा रोप्न। म चाहन्थेँ कि मेरो परीक्षाको पानामा मेरो आफ्नै सङ्घर्षको मसी लतपतियोस्। तर विडम्बना! मेरो यो शरीर, यो अबुझ समाज र यो संवेदनहीन राज्यले मलाई एउटा यस्तो ‘परजीवी’ को कोटिमा उभ्याइदियो, जसले आफ्नो योग्यता प्रमाणित गर्ने एउटा सामान्य ‘लेखन अधिकार’ का लागि पनि दृष्टि सम्बन्धी अपाङ्गता भएको आफ्नै गुरुको गोडा समातेर रुनुपर्छ।
कस्तो बिचित्रको यो “शिक्षित” हुनुको सजाय हो गुरु! म दर्शनका लामा-लामा सिद्धान्तहरू कण्ठ गर्छु, म न्यायका कुरा गर्छु, म स्वतन्त्रताका गीतहरू गाउँछु; तर जब मेरो परीक्षाको घडी आउँछ, म फेरि त्यही आदिम अन्धकारको खाल्डोमा खस्छु जहाँ मलाई एउटा ‘लेखन सहयोगी’ को वैशाखी विना एक पाइला सर्न अनुमति छैन। तपाईंले भन्नुभयो नि— राजनीति त यहाँको रगतमै मिसिएको छ। हो गुरु, ती टायर बाल्ने र प्रशासनको कुर्सी हल्लाउने ‘क्रान्तिकारी’हरूका लागि म एउटा ‘सहानुभूति’ बटुल्ने सस्तो विज्ञापन मात्र हुँ। विश्वविद्यालयका ती सुकिला-मुकिला ‘महारथी’हरूका लागि म एउटा ‘कोटा’ को मृत संख्या मात्र हुँ। उनीहरूले कहिल्यै बुझेनन् कि एउटा दृष्टिविहीन विद्यार्थीले परीक्षा हलको त्यो बेन्चसम्म पुग्न कतिवटा अपमानका पर्खालहरू नाघ्नुपर्छ। उनीहरूले कहिल्यै सोचेनन् कि दृष्टि सम्बन्धी अपाङ्गता भएको एउटा शिक्षकलाई, जो स्वयं आफ्नै चुनौतीहरूसँग लडिरहेको छ, उसैलाई आफ्ना चेलाका लागि ‘लेखन सहयोगी’ खोज्न लगाउनु भनेको त्यो शिक्षकको प्राज्ञिक उचाइ र स्वाभिमानमाथि गरिएको सबैभन्दा क्रूर ठट्टा हो। मलाई माफ गरिदिनुस् गुरु, मेरो यो विवशताले तपाईंको त्यो ओजिलो व्यक्तित्वलाई एउटा ‘एजेन्ट’ को तहमा झारिदिएको छ। म आफैँलाई धिक्कार्छु, म मेरो यो सेतो छडीलाई हजार पटक धिक्कार्छु, जसले मलाई बाटो त देखायो तर आत्मसम्मानको उज्यालोमा कहिल्यै पुर्‍याउन सकेन।
मलाई थाहा छ गुरु, तपाईँको मनमा कहिलेकाहीँ मलाई त्यो सफलताको शिखरबाट तल धकेलिदिने भयानक झोक चल्छ। तपाईँ चाहनुहुन्छ कि मैले सङ्घर्षको वास्तविक र बीभत्स रूप देखूँ, ताकि मैले अरूको वैशाखी टेक्ने ‘चलाखी’ छोडिदिऊँ। तर गुरु, के म जन्मिएदेखि नै एउटा अनन्त र अँध्यारो भिरबाट खसिरहेको छैन र? मेरो प्रत्येक बिहानी एउटा नयाँ युद्ध हो, जहाँ मैले आफ्नै घरका सामानदेखि सडकका खाल्डाखुल्डीसम्मलाई शत्रु ठानेर जोगिनुपर्छ। तपाईँले मलाई शिखरबाट धकेल्नुभयो भने मलाई कुनै गुनासो हुनेछैन, किनकि मलाई त भुइँमा पछारिनुको स्वाद निकै पहिल्यैदेखि कण्ठ छ। म त त्यो दिन मात्र साँच्चै मर्नेछु, जुन दिन तपाईँको आँखामा मेरो लागि ‘अधिकार’ होइन, केवल ‘घृणा’ र ‘विरक्ति’ मात्र देख्नेछु। तपाईँलाई लाग्छ होला म तपाईंको संवेदनाको दोहन गर्दैछु। तर गुरु, त्यो ‘सहानुभूति’ को भिक्षा थाप्दा मेरो मुटुमा कतिवटा भाला रोपिन्छन् होला, तपाईँले कहिल्यै महसुस गर्नुभएको छ? मलाई लाग्छ, म यो विश्वविद्यालयको प्राज्ञिक सन्तान होइन, एउटा यस्तो भिखारी हुँ जसले आफ्नो ज्ञानको सट्टामा तपाईँको समय, तपाईँको शान्ति र तपाईँको स्वाभिमानको भिक्षा मागिरहेको छ। म तपाईँको अगाडि एउटा ‘सुविधाको भोगी मेसिन’ बनेर प्रस्तुत हुँदा मेरो आफ्नै अस्तित्वले मलाई गिज्याइरहेको हुन्छ।
जब म तपाईँको कोठाको ढोकामा उभिन्छु, मेरो मुटुको धड्कनले मलाई नै गाली गरिरहेको हुन्छ। म सुन्छु— तपाईँ भित्रभित्रै ज्वालामुखी जस्तै दन्किरहनुभएको छ, तपाईंको त्यो मौन आक्रोश र भित्री दहनले मलाई पनि भष्म बनाइरहेको हुन्छ। तपाईँले जब एउटा लामो सास फेरेर भन्नुहुन्छ नि— “लौ हुन्छ बाबु, म कोही न कोही खोजिदिउँला,” त्यो वाक्यमा तपाईंको जति पराजय र आत्मग्लानि हुन्छ, मेरो त्यति नै ठूलो मृत्यु हुन्छ। म चाहन्छु, यो देशको कानुनले मलाई एउटा यस्तो प्रविधि वा सफ्टवेयर दियोस् कि मैले तपाईँको सहारा लिनु नपरोस्। म चाहन्छु, यो प्रशासनले एउटा यस्तो ‘लेखन बैंक’ को व्यवस्था गरोस् कि दृष्टि सम्बन्धी अपाङ्गता भएको एउटा प्राध्यापकले आफ्नो पसिना पुछ्दै आफ्नै विद्यार्थीका लागि कसैको अनुनय-विनय गर्दै हिँड्नु नपरोस्। तर यहाँ त सबै मौन छन्। यहाँ त केवल तपाईँ र म छौँ— दुईवटा अँध्याराहरू जो एकअर्कालाई उज्यालो दिने प्रयासमा झन् बढी पिल्सिरहेका छौँ। ती आँखा हुनेहरू हामीभन्दा बढी दृष्टिविहीन छन्। उनीहरूलाई त केवल हाम्रो विवशताको सिँढी चढेर सत्ताको शिखरमा पुग्नु छ।
गुरु, तपाईँको त्यो सेतो छडी फलामको साङ्लो होइन, त्यो त हाम्रो साझा पीडाको साक्षी हो। तपाईंले मलाई भिरबाट धकेल्ने कुरा गर्नुभयो नि? म त चाहन्छु, तपाईँले मलाई साँच्चै धकेलिदिनुस्! मलाई त्यो शून्यतामा खस्न दिनुस् जहाँ मेरो लाचारीको गन्ध सुँघ्ने कोही नहोस्। मलाई त्यो लज्जास्पद हारको भुमरीमा छोडिदिनुस्, जहाँ हातमा डिग्रीको प्रमाणपत्र हुँदा पनि म अशिक्षित महसुस गरूँ। किनकि मलाई थाहा छ, जबसम्म म तपाईँको काँधमा चढेर आकाश छुने सपना देख्छु, तबसम्म मेरो आफ्नो पखेटा कहिल्यै पलाउने छैन। तर गुरु, के मलाई यो राज्यले पखेटा पलाउने आकाश दिएको छ र? के यो विश्वविद्यालयले मलाई आफ्नै खुट्टामा उभिने जमिन दिएको छ र? उनीहरूले त मलाई एउटा ‘अपाहिज’ बनाएर तपाईँको ढोकामा बाँधिदिएका छन्। उनीहरूले त तपाईँ जस्तो एउटा महान शिक्षकलाई एउटा लेखन सहयोगी खोज्ने ‘एजेन्ट’ मा सीमित गरिदिएका छन्। यो हाम्रो हार होइन गुरु, यो त यो पूरै सभ्यताको हार हो!
तपाईँले परिकल्पना गर्नुभएको त्यो विध्वंसमा म पनि सामेल हुन तयार छु। म पनि चाहन्छु यो ढोंगी ‘गुरु-चेला’ को सम्बन्ध एकैचोटि खरानी बनोस्, जहाँ श्रद्धाको लेपन भित्र स्वार्थको दुर्गन्ध लुकेको हुन्छ। मलाई मुक्ति चाहिएको छ यो ‘परजीवी’ प्रवृत्तिबाट। मलाई मुक्ति चाहिएको छ ती आँखाहरूबाट, जो देख्दैनन् तर मलाई भने एउटा बोझ र समस्याको पहाड मात्र देख्छन्। तर जबसम्म यो राज्यले मलाई एउटा मान्छेको दर्जा दिँदैन, जबसम्म यो शिक्षा प्रणालीले मेरो हातमा कलम थमाउने आँट गर्दैन, तबसम्म म तपाईँको दैलोमा यसरी नै याचक बनेर आइरहनेछु। मलाई गाली गर्नुस्, मलाई सराप्नुस्, मलाई त्यो भिरबाट अनन्तको गहिराइमा धकेलिदिनुस्— तर गुरु, मेरो यो ‘परीक्षा’ को अन्तिम घडीमा मलाई यसरी बीच बाटोमा नछोडिदिनुस्। मलाई थाहा छ म तपाईंको बोझ हुँ, तर यो बोझ बोक्ने सामर्थ्य तपाईँको त्यो ‘अभिभावक’ मुटु बाहेक यो पूरै ब्रह्माण्डमा कसैसँग छैन।
भोलि फेरि बिहान हुनेछ। म फेरि तपाईंको कोठाको ढोकामा उभिनेछु। मेरो सेतो छडीले फेरि तपाईँको प्राज्ञिक शान्तिलाई प्रहार गर्नेछ। म फेरि एउटा ‘प्राज्ञिक सन्तान’ को अभिनय गर्दै तपाईँको खुट्टामा झुत्तिनेछु र रुन्चे स्वरमा भन्नेछु, “गुरु, एउटा लेखन सहयोगी मिलाइदिनुस् न!” मेरो यो एउटै वाक्यले तपाईंको मुटुमा कतिवटा सुई रोप्छ होला र मेरो आत्मालाई कति पटक फाँसी दिन्छ होला, त्यो हामी दुवैलाई मात्र थाहा छ। धिक्कार छ यो राज्यलाई! धिक्कार छ यो प्रशासनलाई! र धिक्कार छ मेरो यो नियतिलाई, जसले मेरो उज्यालोको बाटो नै तपाईँको आँसु र आत्मग्लानिबाट बनाएको छ। म रित्तो छु गुरु, म नाङ्गो छु, र म पूर्णतः तपाईँको विवशताको सहारामा बाँचेको एउटा लास हुँ। मलाई यो चक्रव्यूहबाट निकाल्ने बाटो तपाईँलाई पनि थाहा छैन, र मलाई पनि छैन। हामी दुवै यो भ्रष्ट व्यवस्थाका बन्दी हौँ, जहाँ एउटाले आफ्नो स्वाभिमानको बलि दिन्छ र अर्कोले आफ्नो मानवीयताको। मेरो यो हार नै मेरो सबैभन्दा ठूलो र लज्जास्पद विरासत हो!