रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
कल्ले खर्च गर्छ र पैसा गोजाको ?
खेल्छम् हामी भकुन्डो थोत्रा माेजाको।
झुत्रा-मोत्रा कपडा, थाङ्ना खोजेर
च्यात्तिएका लुगा र कागज कोचेर
गोलो-गोलो पुटुक्क बन्यो रोज्जाको
खेल्छम् अब भकुन्डो थोत्रा माेजाको।
हाम्रा लागि सद्दे बल् बन्या हैन रे
किनूँ भने बासँग पैसा छैन रे
कैले दिन आउला र गरिब सोझाको ?
खेल्छम् यस्तै भकुन्डो थोत्रा माेजाको ।