लक्ष्मीपूजा


शम्भु ढकाल
सूर्याेदय न पा १२ आठघरे ,ईलाम

“बाबा लक्ष्मी पूजा भनेकाे के हाे ? ” साँझकाे दिपावली सकिनासाथ जीवनाथलाई कक्षा दशमा पढ्दै गरेकाे छाेराले साेध्याे।
“भगवती लक्ष्मीकाे आरधना ,पूजा ,ध्यान नै लक्ष्मी पूजा हाे बाबुु ” उनले भने । “लक्ष्मी भनेकाे मेहनत ,उज्यालो ,धन दाैलत र सम्पत्ति हाे ।”
“अनि याे पूजा चै किन साँझमा गरेकाे त ? “अर्काे प्रश्न तेर्स्यायाे छाेराले।
“दिनभर घर आँगनकाे सरसफाइ गरेपछि साँझमा लक्ष्मीकाे पूजा गर्ने चलन छ ।” उन्ले भने “जहाँ जहाँ सफा छ लक्ष्मीकाे बास त्यहाँ त्यहाँ मात्रै हुन्छ । फाेहाेरदेखि लक्ष्मी जति सक्दाे टाडा रहन्छिन्।”
“अस्ति दशैँ अघि काका युराेप तिरका देश घुमेर आउनु भयाे । त्यहाँ त कति कति सफा शहर छन् अरे । विकास पनि धेरै । दिदीले अष्ट्रेलियाका शहर कति सफा छन् भनेर फाेनमा भन्नु हुन्छ । तपाईँ नै जापान पुगेर आउनु भएकाे ।” छाेराले भन्याे “हाम्राे देशका जुनसुकै शहर वा गाउँ जताततै फाेहारै फाेहार छ । उसाे भए हामी त खाली लक्ष्मीकाे पूजा मात्रै गर्दा रहेछाैँ । बास त उनकाे कहिल्यै यहाँ नहुने रहेछ नि ?”