
मौसमी चंद्रा
पटना बिहार
गाउँको छेउमा एउटा सानो घर थियो, जहाँ मीरा बस्थी। ऊ सात वर्षकी चञ्चल र प्यारी बालिका थिई। उसका दुई साथी थिए- एउटा निलो बेलुन र एउटा सेतो खरायो, जसको नाम झब्बू थियो।
मीरालाई आकाश धेरै मन पर्थ्यो। हरेक साँझ ऊ आफ्नो घरको छतमा बसेर बादलहरूसँग धेरै कुरा गर्थी। एक दिन गाउँमा एक जना बेलुन बेच्ने दाइ आए। उहाँसँग रातो, हरियो, पहेँलो, सुनौलो जस्ता रंगीबिरंगी बेलुनहरू थिए।
मीराका आँखा चम्किए!
उसले आफ्नो सानो खुत्रुकेबाट पैसा निकालेर एउटा इन्द्रेणी बेलुन किनी।
बेलुन बेच्ने दाइले मुस्कुराउँदै भने, “छोरी, यो बेलुन केवल हावाले होइन, तिम्रा इच्छाहरूले उड्छ। जब तिमी राम्रो सोच्नेछौ र राम्रो काम गर्नेछौ, यो आकाशसम्म पुग्नेछ।”
मीरा हाँसी र भनी, “राम्रो काम भनेको स्कुलको गृहकार्य गर्नु र झब्बूलाई नुहाइदिनु हो ?”
“हो,” बेलुन बेच्ने दाइले भने, “अरूलाई सहयोग गर्नु, झुटो नबोल्नु र आफ्ना खेलौनाहरू बाँड्नु पनि राम्रो काम हो।”
मीराले टाउको हल्लाई र भोलिपल्टदेखि नै राम्रा कामहरू गर्न थाली।
उसले आफ्नो सानो भाइलाई खेल्नका लागि रंगीन पेन्सिलहरू दिई, छिमेकी हजुरआमाको तरकारीको टोकरी बोक्न सहयोग गरी र विद्यालयमा एउटी नयाँ केटीसँग मित्रता गरी, जसको कुनै साथी थिएन।
हरेक पटक राम्रो काम गरेपछि ऊ आफ्नो इन्द्रेणी बेलुन लिएर छतमा जान्थी र बिस्तारै भन्थी, “मैले राम्रो काम गरेँ नि! अब उड।”
त्यसपछि बेलुन अलिकति माथि उड्न थाल्थ्यो। केही दिनमै त्यो बेलुन यति माथि पुग्यो कि बादलहरूसँगै मिसियो।
मीरा खुसी थिई, तर अब उसको बेलुन ऊसँग थिएन।
एक दिन ऊ अलिक उदास भएर बसेकी थिई। त्यत्तिकैमा आकाशबाट एउटा चिठ्ठी आयो।
त्यो चिठ्ठी बादलको सेतो टुक्रामा लेखिएको थियो।
प्रिय मीरा,
तिम्रो बेलुन अहिले ताराहरूको बीचमा छ । ताराहरूले उसलाई धेरै माया गर्छन् । तिम्रा राम्रा कामहरूले उसलाई उडाउँदै ताराहरूको संसारसम्म पुर्याइदिएका छन्।
र, के तिमीलाई थाहा छ ? तिम्रो बेलुनले तिमीलाई एउटा सन्देश पठाएको छ- अबदेखि तिमीले हरेक पटक राम्रो काम गर्दा आकाशको एउटा ताराको चमक अझ बढ्नेछ । अनि एक दिन यस्तो समय आउनेछ, जब सारा आकाशमा अझ धेरै चम्किला ताराहरूले भरिनेछन्।
मीराले चिठ्ठी पढी र आफ्नो सिरानीमुनि सुरक्षित राखी।
अब उसले बुझिसकेकी थिई कि साना-साना राम्रा कामहरूले नै संसारलाई सुन्दर बनाउँछन्। र ती चम्किला ताराहरू वास्तवमा मुस्कुराइरहेका अनुहारहरू हुन्।
तिनै मुस्कानहरूबाट फेरि जन्मिन्छ एउटा नयाँ इन्द्रेणी बेलुन !





