
दुर्गा घिमिरे
लागूपदार्थ सेवन र यसको असरबारे सचेतना कार्यक्रम चलिरहेको थियो। विभिन्न वक्ताहरूले लागूपदार्थको दुष्प्रभावबारे जोडदार धारणा राखिरहेका थिए। उनीहरूको भाषण सुन्दा लाग्थ्यो, अब जिल्लाबाट लागूपदार्थ सधैँका लागि अन्त्य हुने भयो।
कार्यक्रम सकियो। सहभागीहरू बिस्तारै बाहिरिए।
कार्यक्रमका मुख्य अभियन्ता भने नजिकैको होटलमा पुगे। कुर्सीमा बस्दै उनले वेटरतर्फ हेरेर भने,
“ए भाइ, एउटा चिलिम त ल्याइदेऊ न! आजको कार्यक्रमले त झन् तान्ने रहर बढाइदियो।”
वेटर अचम्मित भयो। केही क्षण मौन रह्यो।
अभियन्ता भने मुस्कुराउँदै थिए, तर उनका शब्दहरूले कार्यक्रमको वास्तविक प्रभावमाथि गम्भीर प्रश्न उठाइरहेका थिए।





