‘वर्षाको पुकार’


श्रीधर भण्डारी
बर्दिया

इन्द्रदेव धरतीमा
पानी झारिदेऊ।
खेतबारी सुक्न थाले
पानी पारिदेऊ।।

असार गयो साउन पनि
यसै जान थाल्यो।
गर्मी धेरै हुँदाखेरि
हाम्रो ज्यान गाल्यो।।

पूजा गर्छौं बरु हामी
चढाउँछौँ प्रसाद।
नआउँदा धरतीमा
हामी भयौँ फसाद।।

आकुलव्याकुल भई अझै
कति दिन बस्ने।
आकाशबाट कहिले तिमी
जमिनमा खस्ने।।

ड्याम्मडुम्म बादल लाग्दा
खुसी हुने आश।
समयमै पानी परे
धर्ती बन्छ खास।।

रोपेको नि डढ्न थाल्यो
कहाँ पोख्ने मन।
बाँझै छन् है कैयौँ खेत
कहाँ रोप्ने भन।।

थाल ठोकूँ,मादल ठोकूँ
कि त ढ्याङ्ग्रो ठोकूँ।
सबै प्राणी यसै भन्छन्
कति पिर बोकूँ।।

अब धेरै ढिला भयो
पानी परिदेऊ।
हराभरा हृदय बोकी
गह्रा भरिदेऊ।।