“वसन्त र लेकाली सुन्दरता”

घनश्याम रेग्मी

पाखातर्फ गुराँसका कुसुमले लाली चढाए अहा!
प्यारा कोकिल गाउँदै मधुरिमा भाका सुनाए जहाँ
राम्रो पार्छ वसन्तले भुवन यो हो स्वर्गझैँ सन्दुक
आँखा हेर्छ अघाउँदैन मन यो तान्ने छ झैँ चुम्बक।

पाके काफल लेकमा अमृतझैँ स्वादिष्ट छन् खानमा
हावा शीतल बग्छ जो कुसुमको गुञ्जाउँदै कानमा
लेकाली जरुवा चिसो छ जलको पीयूषजस्तै मिठो
जाऊँ हेर्न हिमालको प्रिय छटा भन्दैछ लोभी ठिटो।

सारङ्‌गी धुन गाउँछन् तरुलता गाना अहो! नादझैँ
बोल्छन् पातहरू कडा विषयमा छन् तर्क ती वादझैँ
झञ्झावात सुनाउँछन् पवनले आयो कि झैँ कम्पन
कस्तो मादकता छ यो प्रकृतिमा लठ्याउँने बन्धन।

मान्छेका मनका कथा र कविता उस्तै उनेझैँ गरी
भेरी छाल सुसाउँछे गजबले गाना र भाका छरी
टप्पा नाच चलेर गाउँ घर नै लाग्दोछ रोधीघर
उम्दा दृश्य नियाल गाउँतिरको यो स्वर्गजस्तै घर।

चौँरी चर्दछ लेकका वन वनै लाग्छन् तपस्वी ऋषि
वीणाकासरि बज्छ त्यो मधुरिमा घन्टी मजाको कति
सेता चामर उड्दछन् पवनमा फर्किन्छ पन्नासरि
हाम्रो जीवन कर्म हो र अवनि यो लाग्छ पूजास्थली।