विद्वान् कालीदास एक दिन एउटी महिलाको आँगनमा पुग्छन्।
कालीदास :- ए हजुर, मलाई धेरै प्यास लागेको छ, पिउने पानी दिनुहोस् न।
महिला :- म तिमीलाई चिन्दिन, पहिला आफ्नो परिचय देऊ। म अवश्य पानी दिन्छु।
कालीदास :-म यात्री हुँ।
महिला :- तिमी यात्री कसरी हुनसक्छौ ? यात्री त केवल दुई मात्र छन् – सूर्य र चन्द्रमा, जो कहिल्यै रोकिन्नन्, हमेशा चलिरहन्छन्। साँचो बताऊ, तिमी को हौ ?
कालीदास :-म पाहुना हुँ।
महिला :- तिमी पाहुना कसरी हुन्छौ ? संसारमा दुई जना मात्र पाहुना छन्। पहिलो धन र दोस्रो यौवन । यिनीहरूलाई जान समय लाग्दैन। भन को हौ तिमी ?
कालीदास :- म सहनशीलता हूँ। अब त पानी दिनुहोस्।
महिला :- नाईं, सहनशीलता त दुई मात्र छन्। पहिलो, धर्ती जो पापी – धर्मात्मा सबैको बोझ सहन्छिन्, जसको छाती चिरेर बीज राखिदिँदा अन्नको भण्डार दिन्छिन्। अनि, दोस्रो हो रूख जसलाई पत्थरले हिर्काए पनि मिठो फल दिन्छ। साँच्चै भन त को हौ तिमी ?
कालीदास :- म हठी हुँ।
महिला :- फेरि असत्य। हठी त दुई मात्र छन्।
पहिलो नङ र दोस्रो केश। जति काटे पनि फेरि फेरि निक्लिरहन्छन् । सत्य बोल, को हौ तिमी ?
(कालीदास आफूलाई अपमानित र पराजित महशुस गर्दछन्)
कालीदास :- त्यसो भए म मूर्ख हुँ।
महिला :- होइन, तिमी मूर्ख कसरी हुनसक्छौ ? मूर्ख त दुई मात्र छन्। पहिलो शासक जो विनायोग्यता पनि सबैलाई शासन गर्न सक्छन् दोस्रो उसका सल्लाहकार जो शासकलाई प्रसन्न बनाउन उसका गलत क्रियाकलापलाई पनि तर्क दिएर सही सिद्ध बनाउने चेष्टा गर्छन् । (उत्तर दिँदा दिँदा हैरान बनेका कालीदास केही बोल्नै नसक्ने भए। आफ्नो फरक फरक परिचय दिएका कारण उनी महिलाको गोडा समाउँदै याचना गर्छन्।)
कालीदासः म कालीदास हूँ।
महिला :- उठ कालीदास। खासमा म सरस्वती माता हूँ।
(आवाज सुनेर माथि हेर्दा त साक्षात् माता सरस्वती त्यहाँ हुनुहुन्थ्यो।)
माता सरस्वती :- शिक्षाबाट ज्ञान आर्जन हुन्छ न कि अहंकार। तिमीले शिक्षाको बलमा प्राप्त गरेको मान र प्रतिष्ठालाई आफ्नो उपलब्धि मान्यौ र अहंकारको सिँहासनमा बस्यौ। यसैले तिम्रो चक्षु खोल्नको लागि मैले यो नाटक गर्नुपर्यो। कालीदासलाई आफ्नो गल्ती महशुस हुन्छ र अन्ततः पानी पिएर प्यास मेटाउँछन्। त्यसैले विद्वत्ता उपर कहिल्यै घमण्ड नगरौं, घमण्डले विद्वत्तालाई नष्ट गरिदिन्छ ।
श्रोतः शिक्षा





