संस्कार

त्रिलोचन ढकाल
आनन्दआश्रम,फापरथुम-स्याङ्जा

“गुहार ! गुहार !!”
राम मायाले चर्को आवाजमा गुहार मागेको सुनियो । टोलबासीहरू जम्मा भए र सहयोग गर्न थाले । त्यही रिम बहादुर पनि थिए । उनले भनिरहेका थिए- “के गर्नु मूर्ख भएपछि यस्तो हुँदो रहेछ ।”
यो सबै देखिरहेका मदनले भने -“समय मै पढाएको भए यस्तो हुँदैनथ्यो होला ।”
“पढाएको हो नि हजुर ! डिग्री पास गरेको छ ।”
“डिग्री ?!” मदनले आश्चर्ययुक्त प्रश्न गरे ।
रिम बहादुरले थपे-“म निरक्षर भए पनि छोराले पढोस् भनेर दुःख गरेँ । ठण्डी गर्मी नभनिकन हात खुट्टा ढुुङ्गा, इटा र ब्लकले डामेर यसलाई पढाएँ । राम्रै पढेको थियो ।”
“आज के भएको हो त ?” मदनको जिज्ञासा पोखियो ।
“भाउजू बोक्सी लागिन् रे । भाउजुलाई बोक्सी भनेर सधैँ रडाको गरिरहन्छ ।”
रिम बहादुरले आँसु टिलपिल पार्दै गुनासो सुनाए ।
“बोक्सी हुँदैन।मान्छेलाई बोक्सी भन्नु अत्याचार हो र अन्धविश्वास हो ।” मदनले आफ्नो विचार व्यक्त गरे।”बोक्सी हुन्छन् भन्ने कुरा मैले पनि मान्दिन सर !सत्तरी वर्षको भएँ अहिलेसम्म बोक्सी लाग्यो भनेर गुनासो गर्न परेको छैन।”  रिम बहादुरले आफ्नो अनुभव सुनाए ।
“तपाईँ निरक्षर हुनु समय बिपरित मानिदैन । छोरो डिग्री पास गरेको भए पनि मूर्ख र अन्धविश्वासी हुनु समाज र देशको निम्ति घातक कुरा हो ।” मदनले प्रवाहित गरे ।
“लौ न सर ! यसको उपचार के होला ? आज त भाउजुको घरमा आगोसमेत लगाइदियो ।” दिक्दारिले भिजेको मुखमण्डलका साथ रिम बहादुरले जिज्ञासा राखे ।
यो सुनेपछि मदन पोखिए- “बच्चादेखि भए शुसंस्कार दिने हो, अब दण्ड ।”