सञ्जाल


डा छायादत्त न्यौपाने

विश्वव्यापी सूत्र, बहुप्रचलित सामाजिक सञ्जाल ! यसको अर्थ हुन्छ, समाजलाई जालमा जेल ! कतैबाट निस्कन नमिल्ने, नसक्ने गरी जेलेको जेल्यै गर भन्ने हो । बरु गँगटाले गाडेका नङ्ग्रा र बिच्छीले डसेको बिषले छाड्लान् तर सञ्जालले जेलेपछि जाल फुक्दैन । कति मजाले फिँजारियो यो प्रविधिको जालो ! हाम्रा परम्परागत मूल्य-मान्यता बङ्ग्याएर आधुनिक सुख-सुविधाको माकुरो बनेर जेलियो मसिनो गरी भित्र भित्रैसम्म । माकुराले बुनेको जालोमा सिकार अल्झेझैँ सपना देखाई फकाई फुल्याई मौलिक सम्पदाहरू निमिट्यान्न पार्ने गरी आफ्नो जालमा अल्झाउन सफल छ सञ्जाल । सोझासिधा मान्छेलाई ललिपप देखाएर व्यापारीको व्यक्तिस्वार्थपूर्ति गर्ने यसको गजबको शैली छ । यसले चास्नीमा झिँगाझैँ सञ्जालमा मान्छे डुबाउने सामर्थ्य राख्छ । हो , सञ्जालले सूचना दिएर खोजीनिती सजिलो पार्छ, साटफेर छलछाम गर्न मदत गर्छ, विधिव्यवहारमा चतुर्याइँ मिसाएर व्यवसाय बढाउँछ र विश्व समुदायलाई छिमेकी बनाइदिएर मान्छेलाई सक्रिय हुन कर गर्छ तर हात घुमाएर सुटुक्क गोजी काट्न सिपालु छ। सञ्जालले नैतिकहीन दृश्य देख्न/देखाउन सिकाएर कतिलाई बौलाहा त कतिलाई बलात्कारी पनि बनाउँछ । कति होनहार युवालाई सैतान बनाउन सक्छ । कति कति लेखाजोखा छैन यसका कर्मको । कतिका घरपरिवारका कुरा पोखेर सडक-सडक पुर्याउँछ । यतिले अघाउँदैन यो सञ्जाल र मानवीय संवेदना, पारिवारिक आत्मीय भावना,सामाजिक सद्भाव चिरा पारेर दूरी बढाइदिन्छ । यसले फिँजाएका परिदृश्य धेरै सुखद छैनन् र हुन पनि सक्दैन । यो सञ्जाली रहस्यमा लतपतिएको बिचरो चेतनशील मान्छे चेत्न नभ्याएर चौबाटो छरपस्ट छरिएको छ तर लाज मानेको छैन । सतर्क हुन्छु भन्छ तर हुन सकेको छैन । जीवनका अनिवार्य अङ्ग सामाजिक मूल्य , शिक्षा , स्वास्थ्य , कृषि , संस्कार संस्कृतिलाई निजी व्यापारसँग जोडेर निमुखा मान्छे झुक्याउने खुइल्याउने प्रयत्नमा अगाडि छ ।यो सञ्जाल निरन्तर अगाडि । जानेर वा नजानेर यस्तो कुटिल जालमा हामी स्वात्तै छिरेका छौँ । अवगत छ यसबाट निस्कन सजिलो छैन तर छिर्ने हतारो सबैलाई छ , ऊ के छिराउन सफल भइरहेको यथार्थ लुकाउन सकिन्छ र ? कतै हामी चेतना र विवेक शून्य भई उसैमा एकोहोरिएका त होइनौं ? के यो सञ्जाली चक्रव्युहले महाभारतको अभिमन्युलाई झैँ क्वाप्प नखाला र हामीलाई ? यसले समाज व्यक्तिमा खुम्च्याइरहेको छ । जेलिरहेको छ । खै कहाँ बाँकी छ र सामाजिक सहिष्णुता, श्रमशीलता, संवेदित मानव, कर्मयोगी चेतना र अभ्यास ? गर्ल्याम्मै भत्कायो घरपरिवार , चटक्कै छुटाइदियो सहृदयी मित्र,थाहै नदिई सञ्जालले सुटुक्क मुखमा पसाइसक्यो । सहिष्णु सामाजिक मूल्य तर हामीलाई पत्तो छैन । उसकै पछि लागेर नैतिक आदर्श ,धैर्य , आस्था र विश्वास डेरा सरे खै कहाँ छ यिनको अवशेष ? त्रेता युगमा एक सिंहिका राक्षसीको मुखबाट हनुमानझैँ फुत्त निस्किने चतुर्याइँपूर्ण जाँगर पनि हामीसँग भएझैँ लाग्दैन । कि निस्कने ज्ञान सिप र सम्भावनाको खोजी गरिरहेका छौं हामीले खुसुक्क भित्र कतै ! किन यतिविघ्न एकोहोरिएर यो संसार निल्ने खेल माछो, माछो भ्यागुताको भुल भुलैयामा हामी ! भनाइ छ नि अति सर्वत्र वर्जयेत अर्थात् जेसुकै पनि ठिक्क उपयोग गर्नु, धेरै अपच हुन्छ, अस्वस्थ भइन्छ,चुलिएसी पोखिन्छ पनि । यो भनाइ हामीले ठानेजति सस्तो छैन । मननीय छ । हुन सक्छ यो सञ्जाल मनोरञ्जन लिनेदिने दाउपेचको चुलिँदो आकाश हो जहाँ सबै अटाइएको छ तर आफैँ मासिने गरी आँखा चिम्लेर ह्वात्तै हाम फाल्नु कति ठिक ? कति विश्वसनीय ?? लौ है ! सुख पाउने लोभको भकारी बोकेर भौंतारिएको मान्छेको कतै तावाबाट उफ्रेको माछो भुङ्रामा परेझैँ दुखद अन्त्य नहोस् ! बेला छँदै मेला बैँस छँदै घरबार ! यो पूर्वज अनुभव बुझेर समयमा दैलो खोली सतर्क सूत्र चेतना र विधिव्यवहारको बिउले विवेक पछ्याउन जाने जीवनले बाटो नबिर्सला कि !!