“सन्ततिको विदेश मोह”


कृष्णशरण उपाध्याय पौडेल

छन्द : शार्दूलविक्रीडित

आमाको सपना छ सन्ततिहरू , पारून् धरा उर्वरा
बाबाको पसिना छ सन्ततिहरू,खोस्रून् यहीँ का गरा
माटाले दिनरात भन्दछ यही , मायाँ मलाई गर
मानौँ भन्दछ आज गाउँ घरले , छायाँ मलाई गर।

मान्दैनन् घर बस्न सन्तति कुनै , मानौँ यहाँ नर्क छ
चाहन्छन् अब पस्न सन्तति उतै , मानौँ उहाँ स्वर्ग छ
जागेको छ विदेश मोह सब मा , बस्ने उतै हो अरे
नङ्रा होस् कि भुजा कि ढाड र घुँडा,धस्ने उतै हो अरे।

फल्थे आँप अनार यी बगर मा , ऊर्जा छरेका भए
झुल्थे स्याउ जुनार कर्मकर ले , पूजा गरेका भए
बर्षिन्थे वरदानरूप सुन या हीरा र मोती मणि
बन्थ्यो भव्य अवर्णनीय नगरी , स्वर्गीय यो आँगनी।

छन् व्यापार अपार किन्तु घरका , सन्तान लाग्छन् पर
श्रीसम्पत्ति छ बैङ्कमा र घरमा , सन्तान भाग्छन् पर
केही छैन कमी यहाँ तर उतै , ताक्ने भए सन्तति
छाडी बाबु मुमा यतै अनि उतै , भाग्ने भए सन्तति।

पेशा या व्यवसायले हजुरबा , पाकेर बस्दा पनि
आफ्ना यी व्यय आयले अझ बुबा,थाकेर बस्दा पनि
राम्रा उद्यम गर्न सन्तति यहाँ , लाग्दै नलाग्ने भए
आफ्नै ठाउँ निमित्त सन्तति कुनै , जाग्दै नजाग्ने भए।

छाडी आज विदेश मोह घरका , छाऔँ न छानाहरू
उब्जाईकन अन्न फूलफलका , खाऔँ न दानाहरू
पक्कै बन्दछ देश देवनगरी , हामी यहीँ नै रहे
पक्कै बन्छ धरा समृद्ध ; पसिना , हाम्रो यहीँ नै बहे।