सपनाको दशैँ


प्रेम अधिकारी
सदाम सुन्तले
मल्ली दक्षिण सिक्किम

केही समयसम्म झरीमा रुझ्दै घाँस पात गरेकाले होला शरीरमा केही थकान महसुस भए तापनि आजको रमाइलो घाममा बसेर सर्दी भगाउने विचार गरेँ। हत्तपत्त गाईवस्तुको धन्दा सिध्याएँ। उता भान्सा घरबाट राधेकी आमाले बनाएको गट्टाको तिहुन र दुङदुङेको अचारबाट बगेको बास्ना मेरो नाकमा ठोक्किएको मात्रै थियो अर्को सुमधुर आवाज आएर मेरो कानमा ठोक्कियो।
“राधेका बाबा!!..”
“हजुर” भन्दै म भान्सा घरभित्र पसेँ।
“लु खाना खाइहाल्नु, चिसो बनाउनु हुँदैन” भन्दै राधेकी आमाले खाना पस्किइन। गट्टाको तिहुन र एकराते दहीसँग खाना खाएर ठुलो डकार काड्दै उठेँ अनि एक घण्टा जति घाम तापेपछि ओछ्यानमा गएर पल्लटिएँ।
बाहिरबाट कसैको आवाज आयो..
ठुल्दाई… ए ठुल्दाई…
“को हो?” भन्दै बाहिर निस्किएँ ओखरबोटे कान्छा रहेछन्।
“कता हिँड्यौ कान्छा?”
“एक महिनाको लागि भनेर लगेको पोहोर सालको हिसाब बुझाएकै थिइनँ धेरै ढिलाई भो भनेर दुई हजार थपेर ल्याइदिएको छु नरिसाऊ है ठुल्दाई” भन्दै मेरो हातमा बाह्र हजार थमाइदिए।
“तिमीलाई पनि दशैँ खर्च चाहिन्छ, मलाई साउँ पैसा भए हुन्छ।”
मैले दुई हजार फर्काई दिएँ।
“धन्यबाद ठुल्दाई! तिम्रो यो उपकार म कहिल्यै बिर्सिन्न” भन्दै उज्यालो अनुहार लिएर बाटो लागे ओखरबोटे कान्छा।
दशैँको छेउमा आफ्नो पैसा फिर्ता पाउँदा मेरो पनि खुसीको सीमा थिएन। दोहोर्याई दोहोर्याई पैसा गन्न थालेँ…
राधेका बाबा!!… ए राधेका बाबा!!
कानमै आएको राधेकी आमाको आवाजले झसङ्ग बनायो।
“के भो राधेकी आमा”
“गाईलाई खोले दिन ढिलो भैसक्यो कस्तो दिउँसै निदाएको?”
म ङिच्च परेर एक्लै गनगनाउँदै आँखा मिच्दै गाई गोठतिर लागेँ।
मेरो दिवा सपनाको दशैँ…..