
अष्टदेव खनाल
भरतपुर -०९ चितवन
हतासिदै आएका निलमणी भने ” नाति हिँड त बजार जाउँ। ”
“किन र हजुरबुबा” नातिले जान्न खोज्यो।
“अच्चकाली गर्मी भयो एउटा ए.सी . किनौँ कि भनेर” निलमणिले भने ।
नातिले हुन्छ हुँदैन केही भनेन।
नातिको कुनै प्रतिक्रिया नपाएका हुजुरबुवाले अल्लि खरो स्वरमा भने, ” हैन किन बोल्दैनस, हुन्छ हुँदैन केही छैन।”
“हजुरबुबा हजुर कति बर्ष हुनु भयो ” नातिले सोध्यो।
“एकहक्तर भएँ ।” किन! आश्चर्य मान्दै उनले भने।
ए…अनि पहिला पनि घरमा ए.सी.थियो र ? उसले सोध्यो।
“थिएन र त किनौँ भनेको ” हजुरबुबाले भने।
“ए.सी. किन्नु भन्दा बरु आँप, रुद्राक्ष चेरी लिची श्रीखण्ड यस्तै यस्तै आठ दशवटा बिरुवा किनेर लगाउनुहोस। घर वरिपरि त्यत्रो जग्गा खाली छ। एक दुई बर्ष पछि यिनै बोट बिरुवा ए.सि. हुन्छ्न। पैसा पनि बच्ने स्वास्थ्यकर पनि हुने। सत्तरी एकहक्तर बर्षसम्म नभएर पनि भयो।” नातिले सल्लाह दियो।
नातिको कुराले उनी निकै बेर टोलाए। एकछिन पछि अँ त नि हो , कुरो सही ,ठिक भनिस भन्दै फरक्क फर्के।





