
राजुराम मुनंकर्मी
भक्तपुर
मानव जीवन पाएकाेमा स्वयम मानव अत्यन्तै गर्व गर्न थाल्याे । अनेक दु:ख, कष्ट, पीडा, संघर्ष भाेग्दाभाेग्दै पनि गर्व गर्न भने नविर्सने क्या गज्जव छ ! यही गर्व दम्भमा परिवर्तन भएकाे चालै पाउँदैनन् । विज्ञानले अनेक चमत्कार गरेकाे पनि सत्य नै हाे तर त्यसले निम्त्याएकाे विनासलाई के भन्ने ? विकासकाे नाउँमा प्रकृतिसँग जाेरी खाेज्ने अनि उल्टै प्रकृतिलाई नै सत्ताेसराप गर्ने ।
वास्तवमा प्रकृतिले कसैलाई अन्याय गरेकाे पनि छैन । चाहे मानव जीवन हाेस्, चाहे जीवजन्तु, कीट पतंग, रूख, फलफूल, विरूवा, खाेलानाला, पर्वत, हिमाल आदि सबैलाई कुनै न कुनै विशेष गुण उपहार स्वरूप प्रदान गरेकाे छ । जन्म, मृत्यु सास्वत सत्यलाई चुनाैती दिन सकेकाे छैन ।
मानिसहरू रूप, शारिरीक बनावट अनि जीवनशैलीमा जतिसुकै आफूलाई अब्बल ठानेता पनि त्यही प्रकृतिलाई सापटी लिएर भन्ने गर्छन् – ” वाह ! स्वर हाेस् त काेईलीकाे जस्ताे ! कम्मर हाेस् त सिंहकाे जस्ताे ! नाच हाेस् त मयुरकाे जस्ताे ! गर्दन हाेस् त परेवाकाे जस्ताे ! नाक हाेस् त सुँगाकाे जस्ताे ! नयन हाेस् त मृगकाे जस्ताे ! हिंडाई हाेस् त बिरालाेकाे जस्ताे ! चलाखी हाेस् त काग जस्ताे ! जाेडी हाेस् त ढुक्कुरकाे जस्ताे ! ………आदि इत्यादि …





