अनुत्तरित पश्न


सत्यजीत
ललितपुर

“यो सबै देउताको रिस हो,” गङ्गाराम बाजेले भावविह्वल हुँदै भने। “हामीले पूजापाठ गर्न छोड्यौँ, देउता रिसाउनु भयो। त्यसैले यस्तो विपत्ति आयो।”
रातभर परेको अविरल वर्षाले गाउँमा ठूलो बाढी ल्याएको थियो। खोला नजिकैको घरखेत बाढीले बगाइसकेको खबरले सबै त्रसित थिए। स्थानीय चौतारीमा गाउँलेहरूको जमघटमा गंगाराम बर्बराउँदै थिए।
त्यही बेला, गाउँको पढेलेखेको युवा गर्जनले बाजेको कुरा सुनेर खित्का छोडे।
“बाजे, तपाईँको यो कुरा सुनेर लाग्यो, बाढीको कारण थाहा नपाईकन देउताको दोष लगाएर उम्कन खोज्नु के यो हाम्रो बुद्धिमानी हो, के यस्ता विपत्ति देउताले रोक्न सक्छन् ?” गर्जनले आश्चर्यचकित हुँदै सोध्यो।
गङ्गाराम झस्किए। “के भन्न खोजेको त, तिमीले त देउता नै मान्दैनौ कि कसो ? हेर, हामीले धर्म मानेकै कारण यो गाउँ बाँचिरहेको छ। नत्र, यो बाढीले सबै तहसनहस गरिसक्थ्यो।”
गर्जन मुस्कुराउँदै नजिकै बसे।
“बाजे, बाढी किन आउँछ थाहा छ ?” उनले नदीतिर इसारा गर्दै भने। “यो नदी किनारको भिर भासिएर हो। अविरल वर्षाले जमिन कमजोर पार्छ, पानीको बहाव तिव्र बनाउँछ। यो प्रकृतिको नियम हो, देउताको कोप होइन।”
बाजे अल्लि झस्किए। “तर तिमी विज्ञानको कुरा मात्रै गर। देउता रिसाए भने बाढी त अझै बलियो हुन्छ, होइन?”
गर्जनले गहिरो सास तान्यो। “हुन त यस्तो सोच पुरानो मानसिकताले बनेको हो। तर बाढीको सामना गर्न हाम्रो ठूलो गल्ती छ। हामीले नदी किनारको रूख ढाल्यौँ, पहाडहरू खनेर बाटो बनायौँ। दोजर चलाएर मन्दिरको घडेरी सम्यायौं, जसले गर्दा भिरपाखा कमजोर भए। देउताले हैन, हाम्रै अज्ञानताले यो विपत्ति निम्त्याएको हो।”
बाजे केहीबेर अडिए-“तर पूजाले शान्ति दिन्छ। के तिमी यो पनि मान्दैनौ?”
“हो, शान्ति दिन्छ, तर समाधान दिदैन। बाजे, विपत्ति रोक्न समाधान चाहिन्छ, अन्धविश्वास हैन। बाढी रोक्न विज्ञानको प्रयोग गरौँ। तटबन्ध बनाऊँ, रूख रोपौँ, र जनतालाई चेतना दिऊँ,”-गर्जनले थप्यो।
बाजे चुपचाप थिए। उनले गर्जनको कुरा सुनेपछि भने, “साँच्चै, हामीले बाढीलाई रोक्न के गर्नुपर्छ भनेर सोच्नुपर्ने बेला भइसकेछ। तर तिम्रो कुरा सुन्दा लाग्छ, हाम्रो सोचले नै हामीलाई कमजोर बनाएको हुनुपर्छ।”
गर्जनले बाजेको हात समाउँदै भने, “बाजे, देउता रिसाउनुभन्दा पनि हामीले प्रकृतिको नियम नबुझेको कारण यो विपत्ति आएको हो। अब जागौँ, नत्र यो अन्धकार चेतनाले पूरै गाउँलाई बगाएर लैजान्छ।”
गङ्गाराम बाजेले गहिरो सास फेरे। “ल ठिक छ, अब तिम्रो कुरा मान्छौँ। तिमीले इतिहासका अनुत्तरित प्रश्नको समाधान निकाल्यौ। तर तिमीले भनेजस्तो काम गर्न अरूलाई पनि सिकाएर समाजको श्रीबृद्धिमा योगदान गरौँ।”