
दुर्गा घिमिरे
राष्ट्रिय धान दिवसको उपलक्ष्यमा बिहानैदेखि फेसबुकका भित्ताहरू हिलाम्मे हुन थालिसकेका थिए। कहिले धानबारीको आलीसम्म नपुगेका छिमेकी दाइ घरमा हतार-हतार पुराना लुगा खोज्दै थिए। उनले श्रीमतीलाई अराए, “ए बुढी, मलाई मेरो त्यो पुरानो लुगा देउ त, आज मेला जानुछ।”
श्रीमती अचम्म परिन्, “कहिले मेला-पातको नाम नलिने मान्छे, आज कुन भूत सवार भएछ?”
दिले दाइको खेतमा सहरिया मानिसहरूको भिड लागेको थियो। कोही नेता थिए, कोही युट्युबर, त कोही फेसबुकका ‘सेलेब्रिटी’। सबैजना हिलो छ्यापाछ्याप गर्दै फोटो खिच्न र भिडियो बनाउन ब्यस्त थिए। नेताहरू माइक अगाडि उभिएर धान दिवसको महत्त्व र कृषि क्रान्तिका लामा-लामा भाषण छाँटिरहेका थिए। क्यामेराका लेन्सहरू चम्किरहेका थिए।तर, त्यही खेतका वास्तविक मालिक दिले दाइलाई कसैले हेरिरहेको थिएन। उनी खेतको कुनामा बसेर टोलाइरहेका थिए।
दिले दाइले लामो सुस्केरा हाल्दै छेवैको साथीसँग दुखेसो पोखे, “बिउ त बल्लतल्ल जुटाएँ, अब मल कसरी जुटाउने होला ? ऋण कसरी तिर्ने होला ?”
उनको यो मलिन स्वर त्यहाँ कतै हरायो । धान दिवस मनाउन आएका सरकारी हाकिम र नेताहरूलाई न किसानको मलबिउको चिन्ता थियो, न त सिँचाइको समस्यासँग चासो।
साँझ पर्दै गयो। खेत विस्तारै सुनसान भयो। हिलोको नाटक सकिएपछि फेसबुक र टिकटकमा भ्युज अनि लाइककाे बाढी आउन थाल्यो। तर, दिले दाइ भने भोलिको दिन कसरी धान रोप्ने र मल कहाँबाट ल्याउने भन्ने पिरलो बोकेर फेरि उही अँध्यारो झुपडीतिर फर्किए।





