
प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना, सुर्खेत
“यो कसले दिएको ?”
छोराको हातमा मिठाई देखेपछि उनले हकार्दै सोधिन्।
“उ त्यो अंकलले, आमा।”
उसले औँला ठड्याउँदै भन्यो।
ती व्यक्तिले नमस्कार गर्दै भने।
“म फलानो मन्त्री हुँ। घरदैलो अभियान चलाउँदै आएको हुँ। यो घरमा तपाईँ मात्रै हुनुहुन्छ जस्तो लाग्यो।”
“एउटा छोरा छ। श्रीमान् परदेश जानुभएको छ,खै, कहिले फर्किनु हुन्छ ! यो घर पनि भत्किन लागेको छ…”
बोल्दाबोल्दै उनी रोकिइन्।
“चिन्ता नगर्नुस्, अब हामी हेर्छौँ।”
चुनावको बेला मात्र गाउँमा नेताले अनुहार देखाउथे।
मन्त्रीले फेरि भने, “यो गाउँलाई सुन्दर बनाइदिन्छौँ। तपाईँको श्रीमानलाई पनि फर्काएर यहीँ जागिर लगाइदिन्छौँ।
तर तपाईँको गाउँले र तपाईँले एउटा काम गर्नुपर्छ।”
“कस्तो काम?” उनले सोधिन्।
“हामीलाई जिताउनुपर्छ।” मन्त्रीले मुख फोरेर भने।
यो सुनेपछि बाबु आउने आशामा खुसी हुँदै छोरा नजिक आयो र सोध्यो। “अंकल, अब कति पटक जिताइदिनुपर्छ ?”





