चन्द्रमाको कुर्ता


नारायण नाथ योगी
इटहरी, सुनसरी

एक दिन आकाशमा चम्किरहेको चन्द्रमाले हठ गर्यो। उसले आमा आकाशदेवीलाई भन्यो, “आमा, मलाई त जाडोले धेरै सताउँछ। रातभरि सनसन हावा चल्छ, शरीर ठण्डा हुन्छ। मलाई  तिमीले ऊनको बाक्लो कुर्ता सिलाईदिनु।” आमा मुस्कुराइन्। उनलाई चन्द्रमाको कुरा रमाइलो लाग्यो। “बाबु, भगवानले तिमीलाई सधैँ रक्षा गरून्। तर समस्या त छ नि,” आमाले भनिन। “समस्या कस्तो ?” चन्द्रमाले आँखा ठुला पार्दै सोध्यो। आमाले भनिन्, “तिमी त दिनदिनै बदलिन्छौ। कहिले एक औँलाभरि सानो, कहिले त एकदम ठूलो। कहिले आकाशैभरि गोलै गोल देखिन्छौ, कहिले फेरि हराएर नै नदेखिने हुन्छौ। अब मलाई भन त, कुन दिनको नाप लिएर कुर्ता सिउनूँ ?” चन्द्रमा लजायो। उसलाई थाहा भयो—उसको रूप त सधैँ बदलिने रहेछ। त्यसैले कुर्ता कहिल्यै नबन्ने भयो। त्यसपछि बच्चाहरूले आकाशतिर हेर्दा चन्द्रमालाई हाँस्दै भन्ने गर्छन्— “कुर्ता नपाएका चन्द्र, तिमी त अझ रमाइलो देखिन्छौ।”