आस्था


संजिता भट्टराई
धनगढीमाई, सिरहा

“कसाहाबाली कत छिगै ?” भन्दै फुलोदेवी आँगनमा पुगिन् । तर घरभित्रको सन्नाटाले उनको पाइला रोक्यो।
सिरहाको एउटा गाउँ छठमय थियो । घाट सजिँदै थिए । घरघरमा प्रसादको तयारी थियो । तर कसाहाबालीको आँगन रित्तो थियो।
श्रीमान् बितेपछि उनको परिवार अभावमा पिल्सिएको थियो । सासू थला परेकी थिइन् । वृद्ध ससुरा उदास थिए । सानो छोरो आमाको अनुहार पढिरहेको थियो।
“आज खरना होइन र ? दूध, चामलको जोहो गरिनस् ?” फुलोदेवीले सोधिन्।
कसाहाबालीका आँखा रसाए । ओठ खुलेनन् । आँसुमा श्रीमानको सम्झना तैरियो।
सखीको पीडा बुझ्न फुलोदेवीलाई बेर लागेन । उनले कसाहाबालीलाई अँगालो हालिन्।
“नरोऊ । हाम्रो सारस्वर युवा क्लब छ नि ! विपन्नका लागि सहयोग जुटाउँछ । तिम्रो छठ अधुरो रहँदैन।”
यो सुन्नासाथ वृद्ध ससुरा जुरुक्क उठे । उनका आँखामा आशाको चमक फर्कियो र भने, “वाह ! हाम्रा युवाले दुःखीको आँसु पुछ्न जानेछन् भने कसले आफूलाई असहाय ठान्नुपर्ला र ! सबै गाउँमा यस्तै युवा शक्ति जागोस् । जय छठी मैयाँ!”
एकाएक आँगनमा मौनता छायो । सानो छोरो मुस्कुरायो । ससुराले नै थपे, “आस्था सूर्यलाई अर्घ दिनु मात्र होइन, कसैको निभ्न लागेको आशामा उज्यालो भर्नु पनि हो ।”