चरित्र


सुमन कडरिया
चितवन

रातको करिब बाह्र बजे सुनसान सडकको कुनामा मोटरसाइकल रोकेर मोबाइलमा कुरा गरिरहेको एउटा युवक नजिक पुगेर उसले सोधी -“दाइ, पठाउ हो ?”
“हो नि!”
“कोटेश्वरसम्म लगिदिनुहुन्छ ?”
“बस्नुस् न।”
मोटरसाइकल हुइँकियो। केही बेरको मौनतापछि रातको सन्नाटालाई चिर्दै युवकले सोध्यो, “तपाईँको नाम नि ?”
“निशा ! तपाईँको ?”
“रवि। नाम त रातजस्तै सुन्दर रहेछ!”
निशा हल्का मुस्कुराई।
“नाम सुन्दर भएर के गर्नु र ? जिन्दगी नै कुरूप छ मेरो।” उसले लामो सास तानी।
रविले ऐनाबाट उसको अनुहार नियाल्दै सोध्यो,
“के काम गर्नुहुन्छ ?”
“डान्स बारमा नाच्छु। रातभरि अरूलाई मनोरञ्जन दिनु मेरो काम हो।”
“किन राति मात्रै ?”
“दिनमा त समाजको नजरबाट लुकेर बस्नुपर्छ नि !”
“किन र ?”
निशा केही बेर मौन रही। त्यसपछि ओठमा व्यङ्ग्यात्मक मुस्कान ल्याउँदै भनी-“रातमा मेरो नाच हेरेर लठ्ठिँदै ताली बजाउनेहरू नै दिउँसो मलाई चरित्रहीन भन्छन्।”