उद्घोष


माहेश्वरी भट्ट
कञ्चनपुर

“तिमीहरूलाई लाग्छ, नाराले मात्र समाज बदलिन्छ ?” पुरानो पुस्ताका एक दाइले आक्रोश पोख्दै भने।
“हजुर, नाराले मात्र होइन, चेतनाले बदलिन्छ। हाम्रो पुस्ता मौन भएर बस्ने छैन।”
सडकछेउको भित्तेघडीले साँझको सात बजाएको थियो। जताततै धुलो, धुम्मिएको आकाश, र थाकेका अनुहारहरू। तर युवाहरूका आँखामा भने कुनै थकान थिएन—त्यहाँ आशाको झिल्को थियो।
“हामी पढाइमा मात्र सीमित हुने पुस्ता होइनौँ। हामी असमानता, बेरोजगारी, अन्याय देख्दा मौन बस्न सक्दैनौँ। यो हाम्रो समय हो, हाम्रो जिम्मेवारी हो ।”
“मेरो पुस्ताले सपना देख्यो, तर अधुरै छोड्यो यदि तिमीहरूले यो सपना पुरा गर्न सक्यौ भने भविष्य उज्यालो हुनेछ।”
“यो देश हाम्रो हो ! हाम्रो भविष्य, हाम्रो आवाज!”
सहरका पर्खालमा टाँसिएका पुराना नारा धमिलिँदै गए, तर नयाँ पुस्ताको आवाज आकाशसम्म गुञ्जियो।