
केशव नेपाल ‘नील’
बलेफी – ८, लामोसाँघु, सिन्धुपाल्चोक
“होनित ! यो मोबाइल भन्ने चिजले आफ्ना धारणा र दृष्टिकोण प्रकाशन तथा प्रसारण गर्न कति सहज बनाउँदो रहेछ!”
बा मख्ख पर्दै भन्नुभयो । आफ्ना सिर्जनाहरू उहाँ यही मोबाइलबाट सामाजिक सञ्जालमा पोस्ट गर्नुहुन्थ्यो। तर लाइक र कमेन्टको हिसाबकिताब राख्ने बानी थिएन।
मलाई हाँसो उठ्यो।
“किन हाँसेकी, छोरी ?” बाले अचम्म मान्दै सोध्नुभयो।
“हजुरका पोस्टमा लाइक र कमेन्ट गर्नेको सङ्ख्या नगण्य छ। तर केही कन्टेन्ट क्रिएटरका पोस्टमा हजारौँ लाइक आउँछन्।”
“त्यसो भए के फरक पर्यो त ?” बाले सहजै सोध्नुभयो।
“फरक नपर्ला। तर हाम्रो समाजका मानिसहरू कति अन्धभक्त छन् भन्ने देखाउन खोजेकी नि !” मैले ठाडो शिरसमेत नगरी जवाफ दिएँ।
बा केही बेर चुप लाग्नुभयो। त्यसपछि गम्भीर स्वरमा भन्नुभयो, “समाज एउटा चक्रव्यूहमा घुमिरहेको हुन्छ, छोरी ! अँध्यारो हुने पनि एउटा समय हुन्छ, उज्यालो हुने पनि अर्को समय हुन्छ।”
म निरुत्तर भएँ।
मोबाइलको स्क्रिनमा फेरि एउटा पोस्ट चम्कियो। हजारौँ लाइक थिए, सयौँ कमेन्ट थिए। तर त्यहाँ एउटा पनि प्रश्न थिएन।





