“खेल्न हुन्न बाबु नानी”


धनराज सिलवाल

खेल्न हुन्न बाबु नानी
पढ्नु पर्छ धेरै
परीक्षामा सफल हुन
लेख्नु पर्छधेरै।

ज्ञान जस्तो ठूलो कुरो
अर्को यहाँ छैन
ज्ञानकै खातिर आराधना
गर्नु पर्छधेरै।

अल्छी होइन परिश्रम
गर्नुपर्छ बाबु अब
सफलताको मार्ग पक्री
हिँड्नु पर्छ धेरै।

न त चोर्छ न त डड्छ
कस्तो चिज अज्ञान
चन्द्र बनी अन्धकारमा
हेर्नु पर्छ धेरै।

प्रेरणाका स्रोत हुन्
गुरुजन हाम्रा
समीप गई ज्ञानका कुरा
सिक्नु पर्छ धेरै।

घोडा चढ्ने लड्छ भन्छन्
पढ्नेहरू फेल
हार अनि हरेस नखाई
पढ्नु पर्छ धेरै।

नुंगिन्छ नि वृक्ष बाबु
फलरुपी गुणले
ज्ञानको भार बोकेपछि
नुग्नु पर्छ धेरै।