भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४, नवलपुर
“कहाँ पढ्ने होला ?” कक्षा आठ पास गरेपछि!
आमा !, “ कुन स्कूलमा पढाउने होला छोरीलाई” चिन्ता पर्न थाल्यो। बढेकी छोरी धेरै टाढा पठाउँन पनि मनले मानेन । आफ्न्ती कहाँ लगेर राख्न पनि खै के हुने हो ? भर लागेन, राम्रो हुने हो कि नहुने हो, केही भन्न सकिन्न ? त्यसमा फेरि आफ्नै छोरी रमाउली भन्ने पनि थाहा भएन । भो ! म त कतै पनि पठाउदिन बरू यहीँ नजिकैको सामुदायिक विद्यालयमा भर्ना गरिदिन्छु । नजिकै छ जाँन आउँनका लागि, आँफूलाई पनि ढुक्क हुन्छ । आफ्नै आँखा अगाडि रहन्छे, फेरि फत्फताउँनु भयो, “ अहिले देशमा कस्ता-कस्ता बलात्कारका घटना घटेका छन् , सुन्दा पनि मन डराउँछ, कसको के विश्वास छर ?” आमाले छोरी अस्मितालाई त्यहीं नजिकै विद्यालयमा भर्ना गरिदिनु हुन्छ र पुन : सोच्नु हुन्छ । सहरबजारमा राखेर पढाउँन त मन छ नि तर के गर्नु परिस्थिति अनुकूल भएन । आ ! जेसुकै होस्, पढ्ने छोराछोरी जहाँ पनि पढ्छन्, यी कुरा त उनीहरूको मिहिनेत अनि लगनशीलतामा भर पर्छ । मास्टर पनि गाउँकै छन् , चिनजानको भएपछि कसो नगर्ली र ? उहाँ विश्वस्त हुनुहुन्थ्यो । फेरि ढुक्क हुदै, यहीँ नै भर्ना गरिदिन्छु, “यदि पढाइमा केही नबुझ्ने भई भने म घरी-घरी विद्यालयमा गएर भन्नु पर्ला । त्यसो गरेपछि कसो नहोला र ? गएर सोधिरहनु पर्ला भन्दै चित्त बुझाउँनु हुन्छ, आमा !”
अस्मिता दिनदिनै विद्यालय जाँने आउँने गर्न थाली। पढ्नमा पनि पहिला भन्दा बढी नै लगाव राख्न थालेकी थिई । “सायद ! नयाँ वातावरण, नयाँ साथीहरू पाएर पो हो कि, मैले पढ्नु पर्छ भन्ने बानीको विकास भएको भनी आमा खुसीले गदगद हुँनुहुन्थ्यो, आफ्नै अन्तर्मनमा रमाउँदै पनि ।” यहीं क्रम चलिरहयो । समयले आफ्नै गतिमा निरन्तरता दिदैँ थियो ।समय बित्दै गयो । यहीं विद्यालयमा कक्षा आठमा नै अशोक पनि पढ्थ्यो । ऊ पढनमा असाध्यै जान्ने हुन्थ्यो । लगनशील र इमान्दार पनि थियो । बाहिरी कुरामा खासै ध्यान दिदैन्थ्यो । एकोहोरो पढाइमा मात्र लगाव राख्थ्यो,अशोक ! झट्ट हेर्दा जिउडाल मिलेको, मोटोघाटो आकर्षक देखिन्थ्यो , पढाइमा पनि जेहेन्दार थियो । खासै धेरै नबोल्ने, कसैले केही भनिहाले पनि ज्यादै कम बोल्ने बानी थियो, अशोकको । प्रतिक्रिया दिँदासमेत हल्का मुस्कानले मन्द मुस्कुराएर टार्ने गर्थ्यो । शान्त स्वभावले होला, ऊ जो कोहीको नजरमा पर्थ्यो । कक्षामा उसलाई सबैले मन पराउँथे, उसको स्वभावले नै सबैको ध्यान खिँच्थ्यो ।
उनीहरू बीचमा सामान्य बोलीचाली मात्र भएको थियो । अशोक चाहिँ अलि लजालु स्वभावको थियो । अस्मिता चाहिँ बोलिरहने, चट्पटे स्वभावकी थिई । शुरू-शुरुमा त दुबै बीच खासै कुराकानी भएन । स्वभावले दुबै ठ्याक्कै विपरीत थिए । अस्मिता नचली एकै ठाँमा बस्न नसक्ने हुन्थी, भने अशोक भलादमी पाराको हुन्छ ।
यसै बीचमा उसको नजर लजालु अशोकतिर गयो । उसको लगनशीलता , इमानदारिता , अनुशासनले अस्मितालाई खिँचिरहेको थियो । ऊ एकोहोरो बोली रहन्थी, तर अशोक मौन रहन्थ्यो । यस्तै क्रम चलिरह्यो, पछि बिस्तारै- बिस्तारै बोलीचाली बढ्न थाल्यो । “बोलीचालीकै क्रममा अस्मिता अनि बढी बोलेको भान हुन्छ, अशोकलाई । उसले पहिला त खास मन पराउँदैन ।” शुरुशुरुमा खाली झगडा मात्र परिरहने हुन्थ्यो । तिनीहरुको बीचमा बोलीचाली पनि बन्द हुन थालेको थियो तर पनि खोई किन हो ? एकअर्कामा नजर चाहिँ जुधिरहन्थ्यो । मुखले नबोले पनि भावनात्मक सम्बन्ध झन प्रगाढ भएको थियो । उसको हरेक क्रियाकलाप नजिकैबाट नियालेकी हुन्थी, अस्मिता !
एकदिन ऊ चुप लागेर बस्नै सकिन अनि आवाज गरी, “अशोक ए ! अशोक किन नबोलेको कति रिसाएर बस्न सकेको होला तिमी ? छ्या !” भन्दै अस्मिता एकनाश कराउन थाली । अशोकचाहिँ आफ्नो पढाइको काममा मात्र व्यस्त भई रह्यो । केही सुन्दैन, खासै त्यतातिर ध्यानै दिदैन ? उसको यस्तो व्यवहार अस्मितालाई मन पर्दैन, असह्य हुन्छ । फेरि पनि, “ किन नबोलेको हँ भन्दै नजिकै जान्छे र बोलाउँछे अनि बल्ल बोल्छ अशोक ! किन के भयो हँ किन रिसाउँनु पर्छ ?” प्रश्न गर्छे अनि बोलीचाली फेरि शुरु हुन थाल्छ, दुबैको ।
“कता-कता अशोकलाई पनि त्यो अस्मिताको चुलबुले बानी, बोलीरहने स्वभाव मन पर्न थालेको हुन्छ तर त्यसमा त्यती ध्यान दिदैन । “ऊ आफ्नै पढाइलाई नै बढी महत्त्व दिन्छ । त्यसैमा लागिरहन्छ । अस्मिताको रिसाएर बस्नै नसक्ने स्वभाव , उसको हेराइ, बोल्ने शैलीले अशोकलाई तानिरहेको हुन्थ्यो, तर हिम्मत जुटाएर भन्ने आँट गर्न सक्दैन । मनमा अनेक भावना खेलाउँन थाल्छ, तर ती सबै अव्यक्त नै रहन्छन् । उसले चाहेर पनि भन्न सकिरहेको हुदैन, वातावरण अनुकूल पाउँदैन । उसले सही समयको प्रतिक्षा गर्छ ।
“अस्मिताको त्यहीँ स्वभाव मन पर्न थालेको हुन्थ्यो । एकछिन नदेख्दानी आँखा नचाउन थाल्थ्यो । एकाएक उसको स्वभावमा परिवर्तन आउँन थाल्यो ।” ऊ आँफैमा खुसी रहन थालेको थियो, उसको हिडाइ, बोलाइ,चालढालमा केही परिवर्तन आएको थियो। आँफैलाई दिनप्रतिदिन परिवर्तन गर्ने कोशिसमा लागेको प्रस्टै देखिन्थ्यो । ऊ झनभन्दा झन राम्रो हुँदै गएको भान हुन्थ्यो।
यता अस्मिताले पनि भित्रभित्रै मन पराउन थालेकी हुन्थी । दुवैजनाले एकअर्कालाई भन्न मात्र सकिरहेका हुदैन्थे। पढाइको साथसाथै माया प्रेम पनि झाङ्गिदै गइरहेको थियो, भेटेपछि छुट्टिन खोज्दैन्थे । उनीहरूको प्रेमको चर्चा चल्न थालेको थियो, विद्यालयमा थाहा नहुने पनि कमै थिए । सबैको नजरमा परेका थिए ।
यस्तै गरी उनीहरुले कक्षा १० पास गर्छन् । अशोकले चाहिँ राम्रै अङ्क ल्याउँछ भने अस्मिता पास मात्र हुन्छे । उच्च शिक्षा पनि सहरमा एउटै कलेजमा पढ्न थालेका थिए । त्यसपछि त झन उनीहरूलाई देख्ने, बुझ्ने अनि चासो राख्ने मान्छे कमै थिए । फरक परिवेश, फरक माहोलमा झन स्वतन्त्र महसुस गर्न थालेका थिए । दुबैले भविष्यको कल्पना सङ्गै गर्न थालेका थिए । भविष्यको योजना बुनेका थिए अनि सङ्गै जिउने र मर्ने कसम पनि खाएका थिए । दुबैले प्लस टु पनि राम्रै नम्बरले उत्तीर्ण गरे । प्लस टु पास गरेपछि अब दुबैले घरमा कुरा गर्नुपर्छ अनि चाडैनै विवाह बन्धनमा बाँधिनुपर्छ, भन्ने सल्लाह गर्छन् अनि दुबै सङ्गै घरतर्फ लाग्छन्।
अशोक घरमा पुगेको के थियो ? बुवा दमको रोगी हुनुहुन्थ्यो, एक्कासी ! श्वासप्रश्वासमा समस्या आयो, अस्पताल लैजादै गर्दा बुवाको बाटोमा नै स्वर्गवास भयो । तैपनि अस्पताल पुर्याए तर डाक्टरले मृत घोषित गरिदियो । बुवाको पार्थिव शरीर बोकेर आफ्नै दाजु पर्नैसङ्ग घर फर्कन्छ । रिनधन गरेर बुवाको काजकिरिया सक्छ, ऊ निराश हुन्छ । परिस्थितिले अर्कै मोड लिन्छ, मनमनै सोच्छ, “के सोचेको थिए, आज के भएको छ, सायद ! नियतिलाई मेरो खुसी मन्जुर रहेनछ ।“ ऊ अन्तर्मनमै हराउँछ, चिन्तित बन्छ।
अशोक निम्न वर्गीय परिवारको हुन्छ । बुवाको मृत्युपछि उसमा घरको सम्पूर्ण जिम्मेवारी थपिन्छ । त्यसमा पनि परिवारको जेठो छोरो जिम्मेवारी पनि बढीनै हुन्छ । उसले परिवारको आर्थिक भार कम गर्न अनेक उपाय सोच्न थाल्छ । घरमा बुबा नभएको एक्ली आमाको दिनरातको सङ्घर्ष नजिकैबाट नियाल्न थाल्छ । यो समाजले दु: खी, गरिबलाई हेर्ने दृष्टिकोण राम्रोसँग बुझेको थियो । उसले आफ्नो खुसी, चाहनालाई तिलाञ्जली दिन्छ । परिवारको आर्थिक भार कम गर्ने उपाय सोच्न थाल्छ । कसरी पैसा कमाऊ र परिवारमा खुसी छर्न सकू ? दिनरात कामको खोजीमा भौतारिन थाल्छ । घरि कता त घरि कता डुल्छ । एकदिन गाउँकै भिनाजू पर्नेले सल्लाह दिन्छन्, भन्छन् , “ के गर्ने सोचमा छस् केटा, विदेश जान्छस् हँ, यदि जाने भए मैले राम्रो एजेन्टलाई चिनेको छु, तेरो के कुरा राखू ?“ त्यो सुनेर ऊ केहीबेर सोचमा पर्छ, मनमनै विचार गर्छ, “जानुपर्छ कि क्याहो, तीन वर्ष बसेँ भने राम्रै पैसो कमाउला नि ! घरपरिवारको जीवनस्तर अलि उकास्न कसो नसकूला र ? बुवाको काजकिरियामा लागेको रिन पनि तिरिहाल्छु , अनि आएर अशूसङ्ग विवाह गर्छु । त्यसपछि यतै केही गरूला ।“ भन्ने सोच्छ र घरपरिवारसङ्ग सल्लाह गरेर भोलि निधो दिने निर्णय गर्छ र विदा हुन्छ । मनमा अनेक तर्कना खेलाउँन थाल्छ, घर फर्कन्छ । कुनै दिन आफ्नी आमाको मुहारमा पक्कै पनि खुसी फर्काउने छु । भाइबहिनी पढाउनु पनि छ भन्दै धन कमाउन ऊ कतारतिर लाग्ने सोच बनाउँछ।
कुरा राख्छ । शुरूमा त आमा अन्कनाउँनु भयो, तँ गइस् भने घरमा कसले गर्छ, बावु ! म बुढी भएँ, जहान परलोक जानुभयो । यत्रो घरको काम वस्तुभाउ, खेतीपाती कसले गर्न सक्छ, अनि जिम्मेवारी कसले निभाउँन सक्ला र खोई, के मैले मात्र सकूला र ? आमा दोधार हुनुभयो । अशोकले शान्त स्वरमा सम्झाउँछ, “यसरी हरेस नखानुहोस् न, आमा ! म हजुरहरूकै खुसीको लागि त हो जान लागेको । फेरि भाइ पनि बुझ्ने भएको छ, उसले हेर्न सक्छ, म सम्झाउँला त्यसलाई । विदेशमा केही वर्ष बसेँ भने रिन तिरूला केही पैसा पनि ल्याऊला अनि विहे पनि त गर्नुछ। तपाईंलाई बुहारी चाहिदैन र ?” उसले ठट्याउलो पारा देखायो । त्यो सुनेर आमा खिस्स हाँस्नुभयो अनि बडो कठिनले हुन्छ, भन्दै सङ्केत गर्नुभयो, टाउको हल्लाउँनुभयो।
उता अस्मितालाई पनि सबै वृत्तान्त बताउँछ , अबको तीन वर्षपछि म तिमीलाई भेट्नेछु भन्ने वाचा पनि गर्छ र आफु कतार जान लागेको पनि बताउँछ । पहिला त अस्मिताले ज्यादै गाह्रो महसुस गर्छे तर पछि उसको समस्या बुझ्ने प्रयास गर्छे र जाने सल्लाह दिन्छे । आफुले कुर्ने वाचा पनि गर्छे।
ऊ धनी बाउकी एक्ली सन्तान थिई । उसलाई खासै अभाव थिएन । पढाइ सकेपछि घरमा विवाहको कुरो चल्न थाल्यो । उसले सुइँको पाई, आमा भन्नुभयो, ” अब छोरीले राम्रो अङ्क ल्याएर प्लस टु पनि पास गरी । अलि राम्रो कूल ,खान्दान हेरेर बिहे गरिदिनुपर्छ, कुरा चलाउनुहोस् त ! लौ, कुरा छोड्नुहोस् है ।” बुझ्दै गर्नुहोस्, म पनि बुझूला। बाबालाई भन्नुभयो, ती सबै कुरा उसले लुकेर सुनेकी थिई । ऊ भयभीत भई, “के मैले बाबाआमालाई सम्झाउँन सकूला, यदि मान्नु भएन भने के होला ?” परिणाम कस्तो आउँला भन्नेमा एकोहोरो घोरिरहन थाली।
अस्मितालाई अब घरमा विवाहको कुरो चल्न थालेर बडो गाह्रो महसुस हुँन थाल्यो । ऊ डराएकी थिई, तरपनि असहज अवस्थामानै आमाबुवालाई सबै कुरा भनी । ” आफ्नो र अशोकको प्रेम सम्बन्ध ! ऊ बिना आँफू बाँच्न नसक्ने , बिहे गरे उसैसँग मात्र गर्ने, अझै तीन वर्ष विवाह नगर्ने, ऊ अहिले विदेश भएकाले आएपछि मात्र विवाह गर्ने आदि इत्यादि निहुरिएरै सबै वृत्तान्त बताई ।” बाबाआमालाई।
“के हो छोरी, तेरो पारा, को हो, त्यो अशोक भन्ने केटा ? उनी जङ्गिए, सबै केरकार गर्न थाले, बाबाले । बुझ्दै गए, केटो विदेश गएको रहेछ ।“ उनलाई खासै चित्तबुझ्दो लागेन अनि अस्मितालाई सम्झाउँदै भन्न थाले । “हेर छोरी त्यो केटासँग तिम्रो भविष्य छैन । दु: ख पाउँछौ, सम्पति पनि खासै रहेनछ । परिवार पनि ठूलो रहेछ । त्यस्तासँग गर्ने होइन । गरिब, दु:खीसङ्ग विवाह गर्दा भोलि आफैंलाई दु:ख हुन्छ । विवाह भन्ने कुरा त धेरै विचार गरेर गर्नुपर्छ, नत्र दु:ख पाइन्छ ।“ आदि इत्यादि, सम्झाए।
अस्मिताले जिद्दी गर्छे , मान्दिन । बाबाले रिसको झोकमा भने, “हेर भोलि दु: ख पाइस् भने यहाँ माग्न आउँन नपरोस् है ! भन्देछु , तेरै भविष्यको लागि भनेको हो । तलाईनै राम्रो होस् भनेर भनेको, बुझ्दिनस् अझै । के म तेरो शत्रु हो, कुभलो चिताउँने ।” राता आँखा बनाउँदै रन्किए बाबा !
ऊ डरले कम्पित भई, रोइकराई, लाचार बनी । विवश थिई, घरका र आफन्ती सबै एकैचोटि खनिए । ऊ केही बोल्नै सकिन ? केवल मौन रही । घरपरिवारको आग्रह/ अनुरोधलाई स्वीकार्दै ऊ चुपचाप सहिरही, मौन रहन्छे, सबै सहन्छे । परिवारकै सल्लाह बमोजिम सामाजिक सञ्जालबाट पनि ब्लक गर्छे, अशोकलाई ! उनीहरू बीच दुरी बढ्दै जान थाल्यो । बोलचाल पनि हरायो।
त्यसको केही समयपछि आफ्नी दिदी पर्नेको सल्लाह बमोजिम धनी परिवारको एक्लो छोरो अस्ट्रेलियाको पि.आर. पाएकोसँग कुरा गर्न थाल्छे । बोलीचाली झ्याङ्गिन थाल्छ, विदेशको झिलिमिली परिवेशले अस्मितालाई तान्न थाल्छ ।एकअर्कामा माया बढ्न थाल्छ । भोलिको भविष्य सुनिश्चित रहेको भान हुन्छ । बिस्तारै रमाउँन थाल्छे, अस्मिता !
“उता अशोकचाहिँ आफूसँगै जिउने, मर्ने कसम खाएकी अशुको त्यो व्यवहारले तनाव महसुस गर्छ, छट्पटिन्छ । काममा पनि खासै चासो दिदैन । जसका कारण कम्पनीमा पनि एउटा एउटा समस्या खडा हुँन थाल्छ । काम बिग्रिरहन्छ, शुरूवातमा मन पराए पनि पछि उसकै लापरवाहीका कारणले कम्पनीले पनि निकालिदिन्छ । अशोक तनावग्रस्त रूपमा छटपटीका साथ घर फर्कन चाहन्छ, तर साथमा टिकट काट्ने पैसा पनि हुदैन । अनेप परपञ्च रचेर बल्लतल्ल पैसाको जोहो गर्छ, अनि टिकट काट्छ । उसले आफ्नो भविष्य अन्धकार देख्छ, सपना सबै चकनाचुर भएको महसुस गर्छ । बाँच्नुको अर्थ पाउँदैन । यति लामो समयसम्म चलेको हाम्रो प्रेम सम्बन्ध क्षणभरिमै टुङ्गियो ! साँचो प्रेमको परिणाम सायद ! मेरो गरिबीले टुङ्गाएको है, भन्ने भान हुन्छ । आतिन्छ, अशोक।
घर आउँदा अस्मिताको अर्को केटासँग विवाह भई सकेको पाउँछ । ऊ पागल जस्तै हुन्छ । त्यही गाउँमा आफ्नो साथी रामको विवाहमा झुत्रेझाम्रे कपडा लगाएर रक्सीको मातमा अन्धाधुन्ध खुब नाच्न थाल्छ । देख्ने कोहीले रमाइलो मानेर हेरिरहेका छन् त कोहीले अनेक टीकाटिप्पणी गरेको देखिन्थ्यो । तर उसलाई बुझ्ने दौँतरीले भने सम्झाउने हरसम्भव प्रयास गरेका थिए।
सबैले एकटकले आफ्नै धुनमा हेरिरहेका हुन्छन् । कोही रमाएका थिए त कोही उसको विगत सम्झदै निराश थिए। कोही सान्त्वना दिन खोज्दै थिए । जसमा गीतको बोल हुन्छ, “बेहुला बनाउँछु भन्थी बहुला बनार गई।”
इन्दिरा प्रयास जहाँ जहाँ बसौँ हामी धरा एक हाम्रो स्वदेश या बसून् अन्तै फुलून् काव्य…
उषा बस्ताकोटी खनाल बाबाको ओत पाए खर जडित कुटी बन्छ ठूलो हबेली । बाबाले कर्म…
सबैको मुखमा एउटै वाक्य— “शिक्षक हो नि, यसरी पढाउनु पर्छ!” मानौँ शिक्षक रोबोट हुन्, विद्यार्थी…
धनराज सिलवाल मेरा साना हातले कलम सामाउॅछु स्कूल जाने बेलामा सधैँ रमाउॅछु। बुबु माम आमाले…