Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/sarathib/public_html/wp-content/themes/Newspaper/functions.php on line 5
बालबालिकाको अधिकारमा सम्झौता हुँदैन, सुरक्षित भविष्य सुनिश्चित गर्न सबैको साझा जिम्मेवारी | सारथि बाल पत्रिका

बालबालिकाको अधिकारमा सम्झौता हुँदैन, सुरक्षित भविष्य सुनिश्चित गर्न सबैको साझा जिम्मेवारी

काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बालबालिकामाथि हुने हिंसा, शोषण, विभेद र दुर्व्यवहार अन्त्य गर्दै प्रत्येक बालबालिकाको सुरक्षित भविष्य सुनिश्चित गर्न राज्यका सबै संयन्त्र र समाजका प्रत्येक पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ।
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस (नोभेम्बर २०) का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले बालबालिकाको अधिकार संरक्षण गर्नु राज्यको संवैधानिक दायित्व र समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ। बालबालिकालाई कल्याणका पात्रका रूपमा मात्र नभई स्वतन्त्र अधिकार भएका नागरिकका रूपमा सम्मान र व्यवहार गर्नुपर्ने उहाँको जोड छ।
यस वर्ष ‘मेरो दिन, मेरो अधिकार, मेरो भविष्य’ भन्ने नाराका साथ मनाइँदै गरेको दिवसले बाल अधिकारको संरक्षण र प्रवर्द्धनप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्न सबैलाई प्रेरित गर्नुपर्ने मन्त्री बादीले बताउनुभएको छ।
बालविवाह, बालश्रम, हिंसा, दुर्व्यवहार, बेचबिखन तथा ओसारपसार, यौन शोषण र विभेद अझै बालबालिकाका लागि गम्भीर चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उहाँले प्रविधिको विकाससँगै साइबर बुलिङ, अनलाइन दुर्व्यवहार र व्यक्तिगत गोपनीयताको दुरुपयोगजस्ता नयाँ जोखिमसमेत बढिरहेको बताउनुभएको छ। यस्ता चुनौतीको सामना गर्न तीनै तहका सरकारबीच समन्वय र बाल संरक्षण प्रणालीको सुदृढीकरण आवश्यक रहेको उहाँको भनाइ छ।
विपद् प्रभावित तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन संरक्षणलाई प्राथमिकता दिँदै सरकारले ‘विपद् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना, २०८३’ कार्यान्वयनमा ल्याएको पनि मन्त्री बादीले जानकारी गराउनुभएको छ। योजनाले सम्भव भएसम्म बालबालिकालाई आफ्नै जैविक परिवारमा सुरक्षित वातावरणमा हुर्कने अवसर सुनिश्चित गर्ने, परिवारमा आधारित स्याहारलाई प्रोत्साहन गर्ने र संस्थागत स्याहारलाई अन्तिम विकल्पका रूपमा मात्र अवलम्बन गर्ने लक्ष्य राखेको छ।
विपद्पश्चात् विशेष संरक्षण आवश्यक भएका बालबालिकाको उद्धार, संरक्षण र पुनर्स्थापनाका लागि ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ। केन्द्रमार्फत बालबालिकालाई आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक खोजी तथा पुनर्मिलनलगायतका सेवा उपलब्ध गराइँदै आएको सन्देशमा उल्लेख छ।
मन्त्री बादीले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राख्दै उनीहरूको आवाज, विचार र सहभागिताको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ। बाल अधिकारको संरक्षण सरकारको एकल प्रयासबाट सम्भव नहुने स्पष्ट पार्दै उहाँले परिवार, विद्यालय, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम र विकास साझेदारलाई सुरक्षित, बालमैत्री तथा विभेदरहित वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ।
बालबालिकाको अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गर्दै प्रत्येक बालबालिकाका लागि सुरक्षित, समावेशी र उज्ज्वल भविष्य सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने मन्त्री बादीको सन्देश छ।

सारथि बाल पत्रिका

Recent Posts

पर्व

सुरेशकुमार पाण्डे "दिनेश ! भैलो खेल्ने होइन ? " रविले सोधे। "आज दिउसभरी खेलेको हो…

9 hours ago

“जाडो लाग्न सुरु गर्‍यो”

रमेशचन्द्र घिमिरे जाडो लाग्न सुरु गर्यो गर्दै खुसुखुसु आकाशले शीत छर्न थाल्यो छुसुछुसु बिस्तार बिस्तार…

9 hours ago

“हेमन्तका सूर्य”

उषा बस्ताकोटी खनाल ग्रीष्मको उम्लिँदो ताप उसकै हातमा दिई ऋषितुल्य शरद्‌बाट चन्द्रको चन्द्रिका लिई हेमन्ती…

1 day ago

गुणस्तरीय कि गुणात्मक शिक्षा

प्रेमनारायण भुसाल शिक्षा चेतनाको प्रतीक हो । मानवको सोचाइ, हेराइ अर्थात् दृष्टिकोण निर्माण गर्ने, स्मृतिको विकास…

1 day ago

अँध्यारोका पाइला र सेतो छडी

रोजिना घिमिरे अँ, म हिँडिरहेछु… निरन्तर, निर्भीक र आफ्नै पदचापहरूको एउटा अमूर्त लयमा, जहाँ मेरो…

3 days ago

उज्यालो

श्री पोखरेल धरान, सुनसरी “बुबा ! हाम्रो घरमा पनि यस्तै बत्ती बाल्ने हो नि ?”…

3 days ago