Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/sarathib/public_html/wp-content/themes/Newspaper/functions.php on line 5
गुणस्तरीय कि गुणात्मक शिक्षा | सारथि बाल पत्रिका

गुणस्तरीय कि गुणात्मक शिक्षा


प्रेमनारायण भुसाल

शिक्षा चेतनाको प्रतीक हो । मानवको सोचाइ, हेराइ अर्थात् दृष्टिकोण निर्माण गर्ने, स्मृतिको विकास गर्ने र जीवनलाई सही दिशामा अघि बढाउने प्रमुख आधार शिक्षा हो । त्यसैले शिक्षालाई ज्ञानको ज्योति, जीवनको उज्यालो पथ तथा मानव सभ्यताको आधारका रूपमा चित्रण गर्ने गरिन्छ । शिक्षा मानिसलाई ज्ञानवान् बनाउने माध्यम मात्र होइन उसलाई विवेकशील, संवेदनशील, नैतिक र जिम्मेवार नागरिकका रूपमा विकसित गर्ने प्रक्रिया पनि हो । शिक्षाले मानिसलाई आफू, आफ्नो समाज, प्रकृति र समग्र विश्वलाई बुझ्ने दृष्टि प्रदान गर्छ तर पछिल्लो समय शिक्षाको यही व्यापक अर्थ सङ्कुचित हुँदै गएको देखिन्छ । शिक्षाको उद्देश्यलाई मुख्यतः रोजगारी प्राप्ति, आयआर्जन र व्यावसायिक सफलतासँग जोडेर हेर्ने प्रवृत्ति बढ्दै जाँदा गुणात्मक शिक्षाको मूल मर्म ओझेलमा पर्न थालेको छ ।
एक्काइसौँ शताब्दीलाई सूचना, सञ्चार र प्रविधिको युग मानिएको छ । यस युगमा ज्ञानको विस्तारसँगै त्यसको व्यावहारिक प्रयोग गर्ने क्षमता पनि उत्तिकै महत्वपूर्ण बनेको छ । कुनै विषयको सैद्धान्तिक ज्ञान प्राप्त गर्नु मात्र पर्याप्त हुँदैन । त्यसलाई जीवनका व्यावहारिक पक्षमा प्रयोग गर्न सक्नु पनि आवश्यक हुन्छ । यसैले वर्तमान शिक्षापद्धतिमा ज्ञान आर्जनभन्दा ज्ञानको प्रयोग, सिप विकास, अनुसन्धान, विश्लेषण र समस्या समाधान गर्ने क्षमतामा जोड दिइँदै आएको छ । कक्षाकोठामा विद्यार्थीलाई निष्क्रिय श्रोताका रूपमा राखेर तयार पारिएका निष्कर्ष सुनाउनेभन्दा उनीहरूलाई प्रश्न गर्न, खोज्न, तर्क गर्न र आफ्नै अनुभवका आधारमा निष्कर्षमा पुग्न प्रेरित गर्ने पद्धति प्रभावकारी मानिएको छ । यस क्रममा निगमनात्मक विधिभन्दा आगमनात्मक विधिलाई प्राथमिकता दिइने प्रवृत्ति बढेको छ । जीवनोपयोगी, सिपमूलक तथा आयमूलक शिक्षालाई आधुनिक शिक्षाको महत्वपूर्ण आधार मानिएको छ ।
शिक्षामा समयानुकूल परिवर्तन आफैँमा सकारात्मक छ । शिक्षा जीवनसँग जोडिनु पर्छ । विद्यार्थीले सिकेका कुरा व्यवहारमा उतार्न सक्नु पर्छ र आफ्नो ज्ञान तथा सिपका माध्यमबाट जीविकोपार्जन गर्न सक्षम हुनु पर्छ । शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउनु आवश्यक छ तर प्रश्न के हो भने शिक्षा प्राप्त गरेपछि व्यक्तिले रोजगारी प्राप्त ग¥यो कि गरेन, आयआर्जन गर्न सक्यो कि सकेन अथवा बजारको आवश्यकता अनुसारको जनशक्ति उत्पादन भयो कि भएन भन्ने आधारमा मात्र शिक्षाको गुणस्तर निर्धारण गर्न सकिन्छ ? शिक्षा र रोजगारीबिचको सम्बन्ध महत्वपूर्ण भए पनि शिक्षाको सम्पूर्ण उद्देश्यलाई यही सम्बन्धमा सीमित गर्नु उपयुक्त हुँदैन । मानिसको जीवन केवल आर्थिक क्रियाकलापमा सीमित छैन । आर्थिक समृद्धिसँगै मानसिक सन्तुलन, सामाजिक सम्बन्ध, नैतिक आचरण, मानवीय संवेदना र आत्मसन्तुष्टि पनि जीवनका महत्वपूर्ण पक्ष हुन् । शिक्षालाई विशेषण दिँदै जाने क्रममा रोजगारीमूलक शिक्षा, व्यावसायिक शिक्षा, सिपमूलक शिक्षा, जीवनोपयोगी शिक्षा र गुणस्तरीय शिक्षा जस्ता शब्द प्रचलनमा आएका छन् । यी सबै अवधारणाको आफ्नै महत्व छ तर गुणस्तरीय शिक्षाको अर्थलाई केवल व्यावसायिक सफलता र आर्थिक उपलब्धिसँग जोड्दा यसको व्यापक मानवीय पक्ष कमजोर हुन पुग्छ । परापूर्वकालदेखि नै शिक्षाको उद्देश्य ज्ञान, विवेक, सदाचार, आत्मबोध र परोपकारसँग जोडिँदै आएको छ । विद्वान् हुनु, ज्ञानी हुनु र असल चरित्रको निर्माण गर्नु शिक्षाका प्रमुख उपलब्धि मानिन्थे । अहिले भने धेरै धन कमाउन सक्ने, प्रतिष्ठित पेसामा संलग्न हुन सक्ने र बजारमा प्रतिस्पर्धा गर्न सक्ने व्यक्तिलाई सफल शिक्षाको प्रतिफलका रूपमा हेर्ने प्रवृत्ति बढेको छ । यसले शिक्षाको उद्देश्यसम्बन्धी हाम्रो बुझाइमा आएको परिवर्तनलाई स्पष्ट पार्छ ।
गुणात्मक शिक्षा भन्नाले व्यक्तिको जीवनलाई समग्र रूपमा समृद्ध बनाउने शिक्षा बुझिन्छ । यसले व्यक्तिलाई ज्ञान, सिप र व्यावसायिक दक्षताले मात्र सम्पन्न बनाउँदैन, उसको मानसिक, सामाजिक, सांस्कृतिक, नैतिक र आध्यात्मिक विकासमा समेत योगदान पु¥याउँछ । गुणात्मक शिक्षाले मानिसलाई आफ्नो जीवनको उद्देश्य पहिचान गर्न, संवेगलाई व्यवस्थापन गर्न, अरूका भावनालाई बुझ्न र सामाजिक सम्बन्धलाई सन्तुलित बनाउन सक्षम बनाउँछ । यसले सहकार्य, सहानुभूति, समानुभूति, परोपकार र आत्मसन्तुष्टि जस्ता मानवीय गुणको विकासमा जोड दिन्छ । यस्तो शिक्षा प्राप्त गरेको व्यक्तिले आफ्नो हितसँगै अरूको हितलाई पनि महत्व दिन्छ । ऊ आफ्नो परिवार, समाज, राष्ट्र र विश्वप्रति जिम्मेवार बन्न सक्छ ।
गुणात्मक शिक्षाको महत्व प्रकृति र समाजप्रतिको दृष्टिकोणमा पनि निहित छ । मानिसले आफ्नो व्यक्तिगत उन्नतिका लागि मात्र शिक्षा प्राप्त गर्ने होइन । उसले आफ्नो ज्ञान र क्षमतालाई समाजको हितमा प्रयोग गर्न सक्नु पर्छ । वातावरण संरक्षण, प्राकृतिक स्रोतको सदुपयोग, सामाजिक सद्भाव, मानवीय सहायता र विश्वशान्ति जस्ता विषय शिक्षाका अभिन्न अङ्ग बन्नु पर्छ । नदी, पहाड, वनजङ्गल, वातावरण, छिमेकी, समाज र राष्ट्रप्रति उत्तरदायी बन्न सिकाउने शिक्षा नै जीवनलाई व्यापक अर्थमा समृद्ध बनाउने शिक्षा हो । यस्तो शिक्षाले व्यक्तिमा विश्वबन्धुत्वको भावना विकास गर्छ । पृथ्वीमा शान्ति होस्, समाजमा सद्भाव रहोस् र मानवता सबैको साझा मूल्य बनोस् भन्ने सन्देश दिन सक्ने शिक्षा नै वास्तविक अर्थमा गुणात्मक शिक्षा हो ।
शिक्षाको क्षेत्रमा उल्लेखनीय प्रगति गरेका राष्ट्रले पनि परिणात्मक शिक्षाभन्दा गुणात्मक जीवनबिचको सम्बन्धलाई महत्व दिन थालेका छन् । गुणात्मक जीवन भन्नाले आर्थिक सम्पन्नता मात्र होइन, सामाजिक सुरक्षा, स्वास्थ्य, मानसिक स्वास्थ्य, सांस्कृतिक पहिचान, आध्यात्मिक सन्तुलन, मानवीय सम्बन्ध र व्यक्तिगत सन्तुष्टिको समष्टिगत अवस्था बुझिन्छ । मानिसले पर्याप्त आयआर्जन गर्न सके पनि उसको जीवनमा मानसिक तनाव, असन्तुष्टि, एक्लोपन र सामाजिक सम्बन्धको अभाव रहन सक्छ । त्यसैले आर्थिक उपलब्धिलाई मात्र जीवनको सफलता मान्न सकिँदैन । व्यक्तिको जीवनलाई सन्तुलित, सार्थक र सन्तुष्टिपूर्ण बनाउन आवश्यक पर्ने आधार निर्माण गर्ने शिक्षा नै गुणात्मक शिक्षा हो ।
नेपाल जस्ता विकासोन्मुख मुलुकमा शिक्षाको मूल्याङ्कन अझै पनि मुख्यतः रोजगारी र व्यावसायिक सफलताका आधारमा गर्ने प्रवृत्ति व्यापक छ । शिक्षा प्राप्त गरेपछि सहजै रोजगारी प्राप्त हुन्छ कि हुँदैन, सम्मानित पेसामा संलग्न हुन सकिन्छ कि सकिँदैन र आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नलाई शिक्षाको गुणस्तर निर्धारण गर्ने प्रमुख आधार मानिएको छ । यसका पछाडि बेरोजगारी, आर्थिक अभाव र अवसरको सीमितता जस्ता वास्तविक समस्या छन् । त्यसैले व्यावसायिक तथा रोजगारमूलक शिक्षाको आवश्यकता अस्वीकार गर्न सकिँदैन तर शिक्षाको उद्देश्यलाई आर्थिक सफलतामा मात्र सीमित गर्नु दीर्घकालीन रूपमा समाजका लागि हितकर हुँदैन । व्यावसायिक दक्षतासँगै नैतिकता, मानवीयता र सामाजिक उत्तरदायित्वको विकास हुन सकेन भने शिक्षित व्यक्त्बिाट समाजले अपेक्षा गरेको सकारात्मक परिवर्तन सम्भव हुँदैन ।
शिक्षामा नैतिक मूल्यको चर्चा भने हुँदै आएको छ । नैतिक मूल्य, व्यावसायिक मूल्य र आचरणगत मूल्यको विकासलाई शिक्षाको महत्वपूर्ण पक्ष मानिएको छ तर गुणात्मक जीवनका लागि यी मूल्य मात्र पर्याप्त हुँदैनन् । व्यक्तिको भौतिक आवश्यकताको परिपूर्ति, मानसिक सन्तुलन, आध्यात्मिक चेतना, चिन्तनशीलता, भावनात्मक परिपक्वता र सामाजिक उत्तरदायित्वको विकास पनि उत्तिकै आवश्यक हुन्छ । यी सबै पक्षको समन्वयबाट मात्र व्यक्तिको सर्वाङ्गीण विकास सम्भव हुन्छ । शिक्षाले मानिसलाई धन कमाउने सिप सिकाउनुका साथै धनको सदुपयोग गर्न, जीवनका कठिनाइलाई सहन गर्न, अरूको दुःख बुझ्न र आफ्नो अस्तित्वको सार्थकता पहिचान गर्न पनि सिकाउनु पर्छ ।
हाम्रो समाजमा पहिले विद्वान् र ज्ञानी बन्ने आशीर्वाद दिइन्थ्यो । ज्ञान, विवेक र सदाचारलाई जीवनका महत्वपूर्ण उपलब्धि मानिन्थ्यो । अहिले भने धेरै धन कमाउने, प्रतिष्ठित पदमा पुग्ने र आर्थिक रूपमा सम्पन्न हुने आकाङ्क्षा प्रमुख बन्दै गएको छ । धनले जीवनका धेरै आवश्यकता पूरा गर्न सक्छ तर सबै कुरा प्राप्त गर्न सकिँदैन । धनले स्वास्थ्य, प्रेम, आत्मीयता, मानसिक शान्ति र आत्मसन्तुष्टि सधैँ सुनिश्चित गर्न सक्दैन । जीवनको सर्वोच्च उपलब्धि केवल आर्थिक सम्पन्नता होइन, सार्थक र सन्तुष्टिपूर्ण जीवन हो भन्ने बोध शिक्षाले गराउनु पर्छ । यही बोध विकास गराउने शिक्षा नै गुणात्मक शिक्षा हो ।
अतः वर्तमान शिक्षापद्धतिको पुनरवलोकन गर्दा गुणस्तरीय शिक्षाको अवधारणालाई गुणात्मक जीवनसँग जोडेर हेर्नुपर्ने आवश्यकता देखिन्छ । पाठ्यक्रम परिमार्जन, शिक्षण विधिमा सुधार, मूल्याङ्कन प्रणालीको पुनर्संरचना र शैक्षिक नीतिको निर्माण गर्दा ज्ञान, सिप र रोजगारीसँगै मानवीय मूल्य, नैतिकता, मानसिक स्वास्थ्य, सामाजिक उत्तरदायित्व र आत्मसन्तुष्टिलाई पनि प्राथमिकता दिनु पर्छ । शिक्षाले व्यक्तिलाई सफल व्यवसायी, दक्ष कर्मचारी वा कुशल प्राविधिक मात्र होइन, विवेकशील, संवेदनशील र जिम्मेवार मानवका रूपमा विकास गर्नु पर्छ । यसबाट व्यक्तिको समग्र व्यक्तित्व प्रस्फुटन हुनुका साथै समाजमा सद्भाव, राष्ट्रमा समृद्धि र विश्वमा शान्ति स्थापना गर्नसमेत योगदान पुग्न सक्छ । यसर्थ गुणस्तरीय शिक्षाको वास्तविक सार गुणात्मक जीवनको निर्माणमा निहित छ ।

श्रोतःhttps://gorkhapatraonline.com/

सारथि बाल पत्रिका

Recent Posts

पर्व

सुरेशकुमार पाण्डे "दिनेश ! भैलो खेल्ने होइन ? " रविले सोधे। "आज दिउसभरी खेलेको हो…

9 hours ago

“जाडो लाग्न सुरु गर्‍यो”

रमेशचन्द्र घिमिरे जाडो लाग्न सुरु गर्यो गर्दै खुसुखुसु आकाशले शीत छर्न थाल्यो छुसुछुसु बिस्तार बिस्तार…

9 hours ago

“हेमन्तका सूर्य”

उषा बस्ताकोटी खनाल ग्रीष्मको उम्लिँदो ताप उसकै हातमा दिई ऋषितुल्य शरद्‌बाट चन्द्रको चन्द्रिका लिई हेमन्ती…

1 day ago

बालबालिकाको अधिकारमा सम्झौता हुँदैन, सुरक्षित भविष्य सुनिश्चित गर्न सबैको साझा जिम्मेवारी

काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बालबालिकामाथि हुने…

1 day ago

अँध्यारोका पाइला र सेतो छडी

रोजिना घिमिरे अँ, म हिँडिरहेछु… निरन्तर, निर्भीक र आफ्नै पदचापहरूको एउटा अमूर्त लयमा, जहाँ मेरो…

3 days ago

उज्यालो

श्री पोखरेल धरान, सुनसरी “बुबा ! हाम्रो घरमा पनि यस्तै बत्ती बाल्ने हो नि ?”…

3 days ago