
मणिराज भट्टराई
साउन महिना । नकारात्मक सोच त्याग गरि सकरात्मक सोच भित्र्याउन झक्झक्याउन ” लुतो फाल्ने दिन” भनेर पनि सम्झने गरिन्छ । नयाँ आर्थिक बर्ष मात्र होईन चाड पर्वहरू आरम्भ हुने महिना पनि हो यो । चाडपर्व केवल मनाउनको लागि मात्र आउँदैनन् मानिसमा स्वस्थ्य मनस्थिति र सुन्दर समाज बनाई रहन पनि हरेक बर्ष बाटो नबिराई आउने गर्दछन् । हो यसैको निरन्तरता यो साउन महिनाले दिने गर्दछ । खसोखास भन्ने नै हो भने सबै महिनालाई आँफु जस्तै हरियो भै रहने प्रेरणा दिने गर्दछ, त्यसैले यो महिना खास लाग्दछ ।
प्रकृति हरियो रङ्गमा सजिएकीछिन् । मानव जीवनलाई सधैँ हरियालीमा रमाउन उत्प्रेरित गरिरहेकी प्रकृति । आजै बाट हिन्दू नारीहरूले प्रकृति प्रदत्त उपहार स्वरुप हरियो रङ्गमा रमाउन शुरु गरेकाछन् । सिङ्गो जीवन घर परिवार समाज देश र समस्त विश्वको हरियाली खुशहालीको कामना गर्दै तीज ब्रत लिन्छन् । हरियो पहिरन र सौभाग्य श्रृङ्गारमा सजिएर संस्कृति परम्परा खेत खलियान सुख दुःखका गीत गाउँछन् रमाउँछन् । माईती सँग बसेर रमाउँछन्। समय सीमामा बाँधिएकाहरु माईती सम्झेर भक्कानिए पनि सहजताका साथ साथीसंगीहरुसँग धुलमिल भै आफ्ना दुःख बिसाउँछन् । सहनशीलताको पाठ समस्त जगतलाई सिकाउँछन्।
कसैले यसलाई नारीमाथिको दमन भन्लान् । पुरूष प्रधान देशमा पुरूषले आफ्नो सत्ता जोगाई राख्न सिन्दूरले थिच्ने चुराले छेक्ने पोतेले बाँध्ने मात्र होईन तीजको ब्रत बस्न लगाई खुट्टाको पानी ख्वाएर अमृत खाएको भान पार्ने चलाखी भन्दै दिग्भ्रमित पारेको नसुनिएको होईन पनि । पुरुषको लागि नारीले ब्रत बसिदिनु पर्ने पुरूषले किन बस्नु नपर्ने ? आदि तर्क गरेर मनमा नकारात्मक शोच उब्जाउने प्रयत्न नहुने गरेको पनि छैन । मान्छे मान्छेमा आउने शोचमा विविधता हुने गर्छ । जुनसुकै विषयमा पनि पक्ष विपक्ष मत आउने नै हुन्छ । त्यो मान्छेको नैसर्गिक अधिकार पनि हो । अनिच्छा पुर्वक कसैमाथि त के कुरा स्वयम् लाई पनि कुनै काममा लगाउनु हुँदैन । कसैलाई दवावमा पार्न हुँदैन । तर जुन विषयले धर्म संस्कृति कलाको जगेर्ना सँग सँगै घर परिवार र समाजमा शान्ति ऐक्यबद्धता बढाउँछ त्यसप्रति उठ्ने अन्यथाका स्वरहरु साउने झरीमा उठ्ने पानी फोका बराबर हुन् भन्ने लाग्दछ ।
आ -आफ्नो घर परिवार समाज र आफ्नो गच्छे अनुरुप तीज पर्व मनाऔं । अरूलाई पर्ने बोझले आँफैलाई पनि थिच्न सक्छ भन्ने कुराको हेक्का राखौँ ।त्यो बोझ आर्थिक मात्र होईन नैतिक ,धार्मिक ,सांस्कृतिक सबै खाले हुनसक्छन् ।महिनाहरू सबैको उत्तिकै महत्व रहन्छ । यो साउन महिनाको मात्र महिमा गाउने धृष्टता भएको होईन । सबै उस्तै उत्तिकै जस्तो लागेपनि अलिक विशेष झुकाव कुनैमा हुनु प्रकृतिको प्रभाव र मानवीय स्वभाव पनि हो जस्तो लाग्छ । अं एउटा कुरा लुकाई रहेको जस्तो लाग्यो आफुलाई । किन लुकाउँ आफ्ना सँग हैन त ? नढाँटी सुटुक्क भनौँ ? यो महिना मेरो जन्म महिना पनि हो । अनि लाग्दैन त विशेष महिना ….?
नेपाली समाजका जो जहाँ रहे भए पनि यसै समाजको उपज हुन् । भूगोलको दूरीले भावनालाई घटाउन सक्तैन बरु अझ नजिक नजिक ल्याई दिन्छ । सबै बर्ग समुदायमा साउन महिना सँगै हरियो जीवनको हार्दिक मङ्गलमय शुभकामना सहित ….





