
अन्जु शर्मा
रातोपुल
टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन थियो ।
तीनै जना तानतान गरेर मेरो भन्दै थिए। भक्त बा.ले यो ढाका टोपी हो , त्यसैले मेरै हुनपर्छ भन्थ्यो। रहमान अन्सारी यो सेतो टोपी मेरो हनुपर्छ भन्थ्यो। त्यसैगरि पाल्तेन शेर्पा यो अलग्गै छ,मेरो टोपी भनेर तान्दै थियो।
हेडसर पनि छुट्टी भएर त्यहीँ बाटो आउँदैहुनुहुन्थ्यो। “धेरै मिल्ने विद्यार्थी आज किन झगडा गर्न लागेछन्?” सर छक्क पर्नुभयो।
“बाबु हो ! तिमीहरू किन झगडा गरेका ?”
रहमानले मुख खोल्यो “सर ! म मुस्लिम, भक्त हिन्दु अनि पाल्तेन बुद्धिष्ट भनेर खासमा टोपीले हाम्रो जातीय पहिचान दिएको थियो । केही क्षण अगाडिको हुरिबतास र पानीले टिपीहरू उडाएर हिलोमा गाडिदियो। बल्लतल्ल एउटा फेला परेको छ। त्यसैले हामी सबैको दाबी यसैमा हो ।
सरले मुस्कुराउँदै संझाउनुभयो “बाबू हो ! तिमीहरूको मित्रता र मानवता ठूलो हो कि ? जात,धर्म ,बर्ग ठूलो ? एउटा टोपीमा मात्र तिमीहरू को पहिचान छ त ?”
सरका कुराले सबैको चेत खुलेछ । सबैले टाउको निहुराएर “मित्रता सर” भन्दै हिलो टोपी फ्यालेर हात समाएर घर फर्के।





