
उमानाथ दाहाल
शिवसताक्षी नगरपालिका दुधे,झापा
विद्यार्थीहरूले सामूहिक रूपमा सस्वर वाचन गरे – “गुरुर्ब्रम्हा गुरुर्विष्णु: गुरुर्देवो महेश्वरः गुरु:साक्षात् परंब्रम्ह तस्मै श्रीगुरवे नमः।”
वाचन चल्दै गर्दा विद्यार्थीको अर्को समूहले लामवद्ध भएर बसेका गुरुहरूलाई माला लगाउने, उपहार दिने, फलफुल दिने कामलाई अगाडि बढाए।
कार्यक्रममा केही विद्यार्थीले गुरुभक्तिका कविता सुनाए केहीले त्यस्तै गीत गाए । अप्सराझैँ सजिएका छात्राहरूले गुरुको सम्मानमा सुन्दर नृत्य पनि प्रस्तुत गरे।
मन्तव्यको क्रममा प्रमुख गुरुले आयोजक विद्यार्थीहरूलाई धन्यवाद प्रदान गरे । असल संस्कार सिकाउन आफुहरू सफल भएकोमा गौरव महसुस गरे । उनले शिष्यहरूको उज्ज्वल भविष्यको कामना पनि गरे।
गुरुले पुनः शिष्य तर्फ संकेत गर्दै भने – ” प्यारा शिष्यहरू तिमीहरूले फूल दियौ, माला दियौ, उपहार दियौ, फलफुल दियौ तर यत्तिले हामीलाई पुगेन । हामी अरू चाहन्छौँ । जोसँग छैन दिनु पर्दैन तर भएकोले अवश्य दिनु पर्छ।”
“के दिनु गुरुदेव हामीसँग त्यस्तो अरु केही छैन ।”
शिष्यको सामूहिक आवाज सुनेका गुरु बोले -” तिमीहरूसँग हुनसक्ने आलस्य र घमण्ड झिकेर मनको रुमालले बेरेर त्यै अघिको उपहारको पोकोमा राख त ।”





