
बलराम दंगाल
रत्ननगर,चितवन
हाल-अष्ट्रेलिया
“गलामा माला, शिरमा टोपी।”
सुकमान ‘आदर्श पुरुष’ को प्रमाणपत्र बोकेर घर पस्यो।
“देखिस्, समाजले कसरी चिन्छ !”
एक कुनामा बसेकी श्रीमतीले हेरिन्, “बाहिरका लागि भगवान् भइसक्नुभयो, घरका लागि कहिले बन्ने ?”
सुकमानको अनुहार फेरियो। हातको चुरोटको ठुटो भुइँमा रगड्यो।
“मुख सम्हाल् !”
“दिनभर बाहिर माला, राति मेरो घाँटीमा हात ? कुन धर्म हो यो ?” उनी चिच्याइन् ।
सुकमानले हात उठायो । श्रीमतीको चिच्याहटले घर गुञ्जियो।
ढोकामा आवाज आयो, “सुकमानज्यू, बधाई छ ! एकछिन प्रतिक्रिया ?”
फ्ल्यास चम्कियो।
सुकमानले त्यही हात जोड्यो, “नमस्ते, सेवा नै धर्म हो।”





