सुरेन उप्रेती
पाँचथर हाल क्यानडा
त्यसै पनि माघ महिना भनेको जाडो महिना हो । त्यसमाथि रातभरी पानी परेको थियो । बिहान उठ्दा त वारीपारी देखिने डाँडामाथि हिँउ टल्कँदै थियो । हिउँलाई छोएर आएको चिसो सिरेटो दिनभरी नै आई रह्यो । कक्षामा पनि झ्यालमा ग्रील मात्र थिए । बन्द गर्न मिल्ने सिसाहरू थिएनन् । विद्यालयको ड्रेस पनि हिँउदको जाडो थाम्न सक्ने खालको थिएन । गाढा निलो नेभिब्लू पेण्ट र स्वेटर अनि आकासे निलो सट स्कुलको ड्रेस थियो । यस्तो जाडोबाट बँच्नलाई यी प्रयाप्त लुगा चै होइनन् । विद्यालयमा सातौँ पिरियडको घण्टी लाग्यो । सबैले शारीरिक शिक्षाको किताब निकाले । यो सातौ पिरियडमा त्यसै पनि विद्यार्थीहरु थाकिसकेका हुन्छन् । सबैलाई कतिखेर छुट्टी हुन्छ र घर जानु भन्ने भएको हुन्छ । विनोद सर कक्षामा प्रवेश गर्नु भयो । सधैँ झैँ सबै उठेर गुडआफ्टरनून सर भने । विनोद सरले गुडआफ्टरनून क्लास भन्दै सबैलाई बस्न अनुरोध गर्नु भयो । कक्षा शान्त भयो । सबैजना जाडोले थरथर काँप्दै गरेको देखे पछि बिनोद सरले एउटा जुक्ति खियाउनु भयो । सबैलाई कक्षा बाहिर लिएर जानु भयो । सबैलाई पंतिबद्ध गरेर हातखुट्टा चलाएर ब्यायाम गराउनु भयो । ल अब सुलभ अगाडि दौडन्छन् । उनका पछि पछि सबै ग्राउण्डको वरिपरि दुई पटक दौडन बिनोद सरले भन्नु भयो । सबै दौडिए । सर पनि सबैका पछि पछि दौडिनु भयो । सबै जना स्याँ -स्याँ भए । जाडोसाडो हरायो । कसैलाई त पसिना पनि आएछ । सबै जना कक्षामा फर्किए ।
आज हामी कुन पाठ पढ्ने हो ? भनेर अगाडिको बेन्चमा बसेकी शान्तीलाई सरले सोध्नु भयो । शान्तीले उठ्दै “खाना” हो सर भनिन् । हाम्रो शरिरमा आहारा या खानाको आवश्यक्ता किन पर्दछ । र खानाको महत्व केछ भनेर सरले कक्षालाई सोध्नु भयो । उत्तर दिनका लागि मोहले हात उठायो । सरले भन भन्ने सङ्केत गर्नासाथ सुरू गर्यो । खाना सबै प्राणीका लागि अति आवाश्यक छ । एउटा गाडी चल्नलाई पेट्रौल, डिजेल ,टायरलाई हावा, ब्याट्री आदि चाहिन्छ । त्यस्तै प्राणीहरूलाई पनि विभिन्न तत्वहरू चाहिन्छन् । ती तत्वहरू खानाबाट मात्र पाईन्छ । खाना बिना बाँच्न सकिँदैन । खाना खाँदा पौष्टिक आहारा खानु पर्छ । जस्तो भनेर सरले उदाहरण दिन भन्नु भयो । जस्तो हरियो सागपात, दूध दही ,माछामासु, गेडागुडी, फलफूल आदि भनेर मोहले भन्यो । मोहले उसका भनाई सक्ना साथ सुनिताले हात उठाईन । सुनिताको हात उठेको देखेर सरले सुनितालाई भन भन्नु भयो । सर हामी साकाहारी खाना खानेको भोजनमा चैँ पौष्टिक तत्व हुँदैन त ? हामी त अण्डा माछामासु खाँदैनौ नि । सुनिताको प्रश्न सुनेर नविनले हात उठायो । नविनले भन्यो सर माछामासुमा पाइने प्रोटिन त गेडागुडी, बदाम, ओखर, आदिमा पनि पाईन्छ नि हैन र । विनोद सरले बोल्न नपाउँदै सम्बृद्धिले हात उठाईन । सरले सम्बृद्धिलाई भन भन्नु भयो । खासगरी पौष्टिक आहारा खानका लागि चार समूहका खानाहरू खानु पर्छ ।
ती हुन्ः-
१ फलफूल र तरकारीहरू :स्याउ, सुन्तला, केरा, अम्बा ,अनार ,दारिम, आरू, आल्चा ,आलुबखडा ,आँप, अंगुर, अमला ,ऐँसेलु ,स्टाबेरी, लिची, कागती,, मेवा, उखु, जुनार, भोगटे ,नास्पाती , ज्यामिर , जल्लिबिर , बडर, डुम्री, हलुवावेत आदि । तरकारीहरूमा: काउली , बन्दाकोपी , ब्रोकाउली , रायाको साग ,तोरीकोसाग लट्टेको साग, बेथुको साग, सिमेसाग , सिमी, बोडी , स्कुस , लसुन, प्याज , बैगुन, रामतोरी, करेला, फर्सी गाजर, मुला, परवल, गोलभेडा,लौका, घिरौँला आदि।
२ दानादार खाना जस्तो गँहु, जौ, कोदो, धान, मकै, आदिबाट बनेका खानेकुराहरू जस्तो भात , रोटी , बेगल डोनट ,ढिँडो , खिर ,पुलाउ ,पाउरोटी आदि।
३ दुध र दुधबाट बनेका परिकारहरू:- दही, चिज, घिउ, मही, पनिर आदि , यदि दुध र दुधबाट उत्पादन भएका बस्तुहरू नखाने भए सोया मिल्क, अरू गेडाकुडीबाट बनेको दुध खाने।
४ माछामासु,अण्डा, दाल, त्यस्तै राज्मा, सिमी, बोडी, चना, भटमास, केराउ,गहत, मस्याम आदि , नट्सहरूमा बदाम, ओखर, कटुस, काजु आदि खाने।
सम्बृद्धिका कुरा सुनेर सबैले अचम्म माने। यती धेरैकुरा तिमीले कसरी जान्यौ सम्बृद्धि सरले सोध्नु भयो । सम्बृद्धिले भनिन। मेरो आमा पनि स्कुलमा पढाउनु हुन्छ । आमाले बिभिन्न विकसित देशको स्वास्थको बारेमा हामीलाई सुनाउनु हुन्छ । त्यहाँको सरकारले निकालेको फुडगायडको बारेमा सुनाउनु हुन्छ । हामीलाई पनि सर्वोत्तम पिठोको सातु खान दिनु हुन्छ । जौ गहुँ मकै चना भट्मास भुटेर सातु बनाउँछौ । त्यसमा अलिकती चिनी राखेर बिहान एक ग्लास पिउँछौँ । सम्बृद्धिका कुरा सुनेर सबै खुशी भए ।
हामीले एकै कुरा धेरै खानु भन्दा सबै कुरा थोरथोरै मिलाएर खाँदा त्यही नै पौष्टिक आहारा हुने रहेछ ! हैन सर रविनले भन्यो ? हो सम्बृद्धिले भनेझैँ यी चार समुहका खानालाई प्रत्येक पटक खाना खाँदा कमकम सबै मिलाएर खायो भने त्यही हो पौष्टिक आहारा । अनि प्रयाप्त मात्रमा पानी पिउँने र झोलकुराहरू पनि प्रसस्त मात्रमा पिउने गर्नु पर्दछ । बिनोद सरले सम्बृद्धिलाई र कक्षाका सबैलाई धन्यवाद दिनु भयो । अब हामी सबै जनाले पौष्टिक आहारा खानेबानी गर्ने र अरूलाई पनि सिकाउने हैत । अर्को कक्षामा फेरी छलफल गरौँला है बिनोद सरले भन्नु भयो । त्यसै बेला छुट्टीको घण्टी पनि बज्यो ।
अस्तु
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…