
आचार्य नन्दलाल
सुन सुन साथीभाइ हो इतिहास हेरौँ,
नेपालीका गौरव ती भानुलाई सम्झौँ।
घाँसीसँग भेट भयो कुवा खन्ने बेला,
त्यही भेटले बदलिदियो भानुभक्तको चोला।
“कृति राखी मर्नु वेश” घाँसीको त्यो वाणी,
बिउँझिए ती आदिकवि सत्प्रेरणा जानी।
संस्कृतका श्लोकहरू नेपालीमा ढाले,
अध्यात्मको चम्किलो त्यो नौलो बत्ती बाले।
सात काण्ड रामायण नेपालीमा ल्याए,
भानुभक्तकै कृपाले राम घर-घर छाए।
भानुभक्तले तन्काएका नेपालीका शब्द,
काव्य सुन्दा आज पनि सारा संसार स्तब्ध।
दुःख पाए, कष्ट भोगे, थुनिए ती जेल,
सरल भाषा लेखिरहे, सम्झी प्रभुको खेल।
कुमारी चोक बस्दा पनि कविता नै लेख्ने,
त्यस्तो अद्भूत प्रतिभा कहाँ होला देख्ने!
काठमाडौँको वर्णनमा अलकापुरी ठाने,
बागमती र विष्णुमती गङ्गा सरी माने।
अन्याय र ढिलासुस्ती सहँदैनथ्यो मन,
भोलि भोलि भनी राख्ने हाकिमलाई व्यङ्ग्य।
छरिएका भाषा-भाका एक सूत्रमा गाँसे,
भाषिक ती एकताका जग बनेर हाँसे।
नेपालीको मनभित्र भानु सधैँ जिउँदा,
अमृत झैँ लाग्छ भाषा कविता यी पिउँदा।
गए पनि भौतिक देह अमर छ नाउँ,
श्रद्धा सुमन टक्र्याउँछ चुँदी रम्घा गाउँ।





