“सौन्दर्य छटा”


दलबहादुर शाही

हिमाली पाखामा अमृतसरहको बग्दछ जल
त्यही मिल्छन् लाखौँ कुसुम जडिबुटी औषधि फल
त्यही फुल्छन् लाखौँ विविध तुरुपका पुष्प लतिका
कतै छैनन् यस्ता पवन प्रकृतिका सुन्दर छटा।

चरेका देखिन्छन् मृग जति नजिकै शैल शिरमा
उडेका देखिन्छन् कतिपय चरा त्यो शिखरमा
कहाँ होला यस्तो सुरभित भवको पूजित कला
कतै छैनन् यस्ता कुसुम प्रकृतिका सुन्दर छटा।

सबै संस्कारी छन् नरम वचनका मानवहरू
त्यही देख्छौँ सारा असल चलनका संस्कृति बरु
त्यही हुन् जन्मेका मुलुकतिर सबैमा अगिसरा
कतै छैनन् यस्ता असल किसिमका सुन्दर छटा।

चिनेका छैनौँ यो जग अझ पनि हामी सुजनले
खुसी छौँ पाएका अलिकति धनको आगमनले
बुत्याएका छैनौँ जति पनि जगका उर्वर गरा
कतै छैनन् यस्ता अनुपम रसिला सुन्दर छटा।