Categories: बाल कथा

वर्षाको वितन्डा


समर भण्डारी
गोलबजार३,जम्दह

तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा पानीको गर्जन र मानिसहरूको चिच्याहट सुनियो।
बिहान पानी घट्दा गाउँ चिनिनै नसकिने भयो। कतै घर थिएनन्, कतै खेत थिएनन्। सीतामायाको घर पनि बगेको थियो। उनी हिलोमा भेटिएको छोराको भिजेको किताब छातीमा च्यापेर बसेकी थिइन्।
रामबहादुर नजिक गए।
“सीता, घर फेरि बनाउन सकिन्छ। तिमी यसरी एक्लै नबस।”
सीतामायाले किताबलाई अझ कसिलो गरी च्यापिन्।
“घर बगेको पीडा त सहुँला रामबहादुर,” उनको स्वर काँप्यो, “तर यो किताब बोकेर घर फर्किने मान्छे नै फर्किएन भने… म यो किताब कसलाई पढेर सुनाऊँ ?”
रामबहादुर मौन भए।
आफ्नै भग्न घरको हिलो पन्छाउँदा उनले पुरानो पारिवारिक तस्बिर भेटे। तस्बिर छातीमा टाँस्दै उनले भने,“बाढीले घर लगेछ सीता… सम्झना लैजान सकेनछ।”
सीतामायाले आँसु पुछिन्।
“त्यसैले त बाँच्नुपर्छ होला… उनीहरूलाई सम्झिरहन।”
केही दिनपछि गाउँलेहरू मिलेर भग्नावशेष सफा गर्न थाले। रामबहादुरले बाढीले पुरेको खेतमा एउटा सानो बीउ रोपे।
सीतामायाले सोधिन्, “यस्तो माटोमा पनि उम्रेला ?”
रामबहादुरले माटो छोप्दै भने, “माटोभित्र जीवन बाँकी छ भने… आशा पनि बाँकी हुन्छ।”
दिनहरू बिते।
एक बिहान सीतामाया भत्किएको घरको ठाउँमा पुगिन्। हिलो चिरेर एउटा सानो हरियो टुसा निस्किएको थियो। उनले छोराको भिजेको किताब खोलेर त्यो टुसालाई हेरिन्। धेरै बेरसम्म केही बोलिनन्।
त्यसपछि किताबको खाली पानामा औँलाले बिस्तारै छोएर फुसफुसाइन्— “तँ फर्केर आउन सकिनस् बाबु…
तर हेर, तेरो गाउँ फेरि उम्रिँदैछ।”
रामबहादुरको आँखा रसाए। दुवै केही बेर मौन उभिए। भग्न घरहरूबीच त्यो सानो टुसा हावामा हल्लिइरहेको थियो।
बाढीले उनीहरूका घर बगायो, कतिपय आफ्ना मान्छे खोस्यो, सम्झनाका पानाहरू भिजायो— तर जीवनको अन्तिम पाना भने खाली छोड्न सकेन।
त्यही खाली पानामा त्यो हरियो टुसाले भोलिको पहिलो अक्षर लेखिरहेको थियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

1 day ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

1 day ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 days ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

4 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

4 days ago