
बलराम दंगाल
रत्ननगर,चितवन
हाल-अष्ट्रेलिया
बेलुका खाना खाँदै गर्दा ज्योतिले भनी, “बाबा, मैले जागिर पाएँ नि !”
तीनपटक एसईईमा गुल्टेकी छोरीलाई हेर्दै विद्यापतिले ओठ लेप्राए, “केमा ?”
“झुट बोल्ने व्यापारमा।” ज्योति सगर्व प्रस्तुत भई।
“कहीँ नभएको झुट बोल्ने पनि व्यापार हुन्छ ?” भात थप्दै आमाले भनिन्।
“जान्नुपर्छ नि, हुन्छ ।” ज्योतिको मुहार झन् उज्यालो भयो।
“बुझ्ने गरी भन त।” विद्यापतिले कचौराको दाल भातमा खन्याउँदै सोधे।
“कैलाश फेन्सीमा।”
“त्यो त महँगो पसल हो।” विद्यापति बोले।
“हो त! ग्राहकले सामान हेरेर महँगो भयो भन्दै निस्कन लाग्दा, ‘तपाईँ त आफ्नै मान्छे, मैले भनेको नभन्नु है—उता पल्लोपट्टिको पसलमा मिलाएर पाइन्छ’ भनिदिने।”
“एउटाकोमा तलब खाएर ग्राहकलाई अन्तै पठाउनु बेइमानी भएन र ?” विद्यापतिले गम्भीर हुँदै भने।
“त्यो पसल पनि त उसकै हो नि!” ज्योतिले सहजै उत्तर दिई।
विद्यापति केहीबेर निःशब्द भए। मुखबाट अनायासै निस्कियो— “विज्ञापनको नयाँ भेरिएन्ट!”





