स्वार्थी बावु


रेवतीरमण सापकोटा
ओदालगढी,असम

“तपाईँलाई थाहा छ आमा, हाम्रो यो सानो परिवारमा हामी चारजनाभित्र धेरै स्वार्थी हाम्रो बावु हुनुहुँदोरहेछ। आखिर किन यस्तो स्वार्थी हुनुहुन्छ हाम्रो बावु?” सरिता छोराको कुरा सुनेर छक्कै पर्छिन्, के भयो हाम्रो छोरालाई आज, किन आफ्नो बावुमाथि भुतभुते खन्याए जस्तै रिस खन्याई रहेको छ ? उनको अनुहार छोराको कुरा सुनेर कालोमैलो हुन्छ।
उता नरेशको बावु काशीनाथ छोरो नरेशको कुरा सुनेर दङ्ग पर्छन्। खानै लागेको रोटी उनको हातबाट थालमै झर्छ। आँखामा आँसु टल्किन लाग्छन्। सरिता छोरालाई सम्झाउने प्रयास त गर्छिन्,”कसरी तेरो बावु स्वार्थी हुनुहुन्छ, भन् त!” नरेश बावुतिर हेर्दै भन्छ, “हो मेरो बावु एकदमै स्वार्थी हुनुहुँदो रहेछ, यो कुरा मैले एक महिनादेखि देखिरहेको छु आमा।” उसका कुरा सुनेर काशीनाथको घाँटी र ओठ सुकेर आउँछ।
नरेश भन्दै जान्छ, “आमा, तपाईँले हाम्रो बावुलाई सधैँ बेलुका एक गिलास दुध दिनुहुन्छ नि, थाहा छ, बावुले के गर्नुहुन्छ ? त्यो दूध आधा मलाई र आधा बैनीलाई सुटुक्क ख्वाइदिनुहुन्छ। तपाईँले बावुलाई दुईवटा रोटी दिनुहुन्छ नि, त्यो पनि एउटा च्यातेर मलाई र बैनीलाई ख्वाउनुहुन्छ। यसरी बावुले त आफ्नो सुख बाँड़्नुहुन्छ तर आफ्नो दुःख सधैँ लुकाएर राख्नुहुन्छ। आज बावुको अफिसमा काम गर्ने रामकृष्ण काकाले भन्नुभयो, बावुको दुई महिना भयो तलब न आएको, तर के यो कुरा तपाईँलाई र हामी सन्तानलाई भन्नुभयो ? भन्नु भएन नि ! त्यहीकारण मैले बुझेँ, हाम्रो बावु सुख बाँड़्ने तर दुःख लुकाउने एक नम्बरको स्वार्थी हुनुहुँदो रहेछ।”
नरेशका कुरा सुनेर सरिता र काशीनाथ गहभरि आँसु पारेर नरेशलाई अँगालो हाल्छन् र एकैसाथ भन्छन्, “संस्कारले जन्मिएको, हाम्रो दुःख बुझिदिने छोरो।”