उज्यालो


श्री पोखरेल
धरान, सुनसरी

“बुबा ! हाम्रो घरमा पनि यस्तै बत्ती बाल्ने हो नि ?” छिमेकीको घरमा झिलिमिली बत्ती देखाउँदै सानो छोराले सोधेको कुरा सम्झेर रामु काम गरिरहेका थिए।
तिहारमा अरूका घर रङ्ग्याउने र फूलमाला गाँस्ने काममा उनी व्यस्त थिए।
अरूका घरमा दसैँको रौनक भित्र्याउँदा आफ्नै घरमा टीका लगाउने फुर्सदसमेत पाएका थिएनन् । छोराछोरीलाई नयाँ लुगा लगाइदिने रहर पनि मनमै थन्क्याएका थिए।
लक्ष्मीपूजाको दिन साँझसम्म उनी एउटा ठूलो घर सजाउन खटिरहेका थिए । घरका झ्यालढोकामा झिलिमिली बत्ती टल्किरहेका थिए । आँगनमा सयपत्री र मखमलीका माला झुन्डिएका थिए।
रधनी बिजुलीपानीले लर्बरिँदै घर आइपुगे । सजावट नियाल्दै भने, “रामु ! यो सजावट मलाई चित्त बुझेन । सबै बत्ती निकालेर फेरि मिलाऊ ।”
रामु अक्क न बक्क परे । छिट्टै काम सकेर आफ्नै घरमा पनि बत्ती बाल्ने उनको रहर अधुरै होला जस्तो भयो । उनी हतारहतार बत्ती निकालेर फेरि जोड्न थाले ।
झमक्क साँझ पर्यो । ज्याला माग्दा घरधनीले भने, “आज लक्ष्मीपूजा हो, भोलि आउनू ।”
बाटोभरि घरघरमा झिलिमिली बिजुलीबत्ती र दियाहरू बलिरहेका थिए । घर पुग्दा उनको घरमा केही दियाहरू टिमटिमाइरहेका थिए । श्रीमती र छोरो तिनै दियाको मधुरो उज्यालोमा उनको बाटो हेरिरहेका थिए ।
रामु ढोकामा पुग्नासाथ छोराले बाहिरका झिलिमिली घरतिर हेर्दै सोध्यो, “बुबा ! हाम्रो घरमा चाहिँ कहिले यस्तै बत्ती बाल्ने ?”