
प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत
“कसरी प्यारो बन्न सकिन्छ, आमा ?”
स्कुलको झोला ढोकामा अड्याउँदै, उसले आमालाई सोध्यो।
“राम्रो काम गरेर अरूको विश्वास जित्न सकियो भने, बाबु,” आमाले उसलाई कमिजको बटन मिलाउँदै भनिन्।
“होर, आमा ?” उसको अनुहार उज्यालो देखियो।
त्यतिबेलै आमाको मोबाइल बज्यो। घण्टीको आवाजले बिहानको शान्त वातावरणलाई बिथोल्यो। श्रीमानको फोन थियो। आज घर आउन नसक्ने कुरा उनले बताए।
“कसको फोन हो, आमा ?” उसले जिज्ञासु हुँदै सोध्यो।
“बाबाको हो। ” आमाले मुस्कानसहित भनिन्।
“कहाँ जानु भएको छ र ?”
“तिम्रो बाबा चुनाव जित्नका लागि घर–दैलो अभियानमा हिँड्नु भएको छ, ”आमाले उत्तर दिइन्।
ऊ केही बेर मौन रह्यो र बिस्तारै भन्यो। “भोलि जित्नु छ भने, आज राम्रो गर्नु पर्दैन र ?”





