देव भट्टराई
गयो वर्षा आयो मृदु ऋतु शरद्को बगलमा।
झुलेका बालाले अति सुख थपे गाउँघरमा॥
दशैँले फर्कायो पथिक परदेशी घरघर।
मिले साथीसङ्गी रमझम गराए वरपर॥
फुलेका क्या ! राम्रा मुदुल सयपत्री ढकमक।
कता के के खाने ? भ्रमित भँवरा छन् अकमक॥
सफा बाटाघाटा सकल हरिया छन् वन-तरु।
भए टाढा मानूँ अब अगतिका ती दिनहरू॥
बसाए बारीमा अमृतसरि अम्बा मगमग।
झुले काँक्रा बोडी पउलसित थाङ्ग्राभरि सब॥
खुलेका छन् सारा गगनतिर तारा जगमग।
भइन् धर्ती राम्री रजत रजनीले सजधज॥
न जाडोगर्मी नै सिकसिक हिलो धूमिल मल।
न बाढी वर्षाले ढुकढुक उफार्ने मुटु-मन॥
जता जाऊँ खाऊँ डरभर कुनै छैन मनमा।
उडेका चङ्गा झैँ छटपट र फुर्ती छ तनमा॥
खुशीको पारो झन् अझ कृषकको माथि छ अति।
त्यही बालीनालीसित गफ गरेका हन ! कति?
पुगेका छन् आँखा छिनछिन उतै प्राण छ जता।
कुनै अर्को साथी प्रियकर छँदैछैन कि यता॥
चटारो केहीको कर अभरको छैन घरमा।
मिलेका छन् सारै लय प्रकृतिका साथ नरका॥
रहे हुन्थ्यो यस्तै समय पछि हेमन्त ऋतुको।
कहाँ होला अर्को ? सुरभित शरद्-सन्त जतिको॥
विपद्का कारण अभिभावक गुमाएका, परिवारबाट बिछोडिएका तथा असुरक्षित अवस्थामा पुगेका बालबालिकाको संरक्षणलाई राज्यको संस्थागत जिम्मेवारीका…
कृष्णशरण उपाध्याय पौडेल हामी जन्मनु पूर्व छल्छल थिए, सारा नदी का जल हाम्रो मृत्यु पछाडि…