
देव भट्टराई
गयो वर्षा आयो मृदु ऋतु शरद्को बगलमा।
झुलेका बालाले अति सुख थपे गाउँघरमा॥
दशैँले फर्कायो पथिक परदेशी घरघर।
मिले साथीसङ्गी रमझम गराए वरपर॥
फुलेका क्या ! राम्रा मुदुल सयपत्री ढकमक।
कता के के खाने ? भ्रमित भँवरा छन् अकमक॥
सफा बाटाघाटा सकल हरिया छन् वन-तरु।
भए टाढा मानूँ अब अगतिका ती दिनहरू॥
बसाए बारीमा अमृतसरि अम्बा मगमग।
झुले काँक्रा बोडी पउलसित थाङ्ग्राभरि सब॥
खुलेका छन् सारा गगनतिर तारा जगमग।
भइन् धर्ती राम्री रजत रजनीले सजधज॥
न जाडोगर्मी नै सिकसिक हिलो धूमिल मल।
न बाढी वर्षाले ढुकढुक उफार्ने मुटु-मन॥
जता जाऊँ खाऊँ डरभर कुनै छैन मनमा।
उडेका चङ्गा झैँ छटपट र फुर्ती छ तनमा॥
खुशीको पारो झन् अझ कृषकको माथि छ अति।
त्यही बालीनालीसित गफ गरेका हन ! कति?
पुगेका छन् आँखा छिनछिन उतै प्राण छ जता।
कुनै अर्को साथी प्रियकर छँदैछैन कि यता॥
चटारो केहीको कर अभरको छैन घरमा।
मिलेका छन् सारै लय प्रकृतिका साथ नरका॥
रहे हुन्थ्यो यस्तै समय पछि हेमन्त ऋतुको।
कहाँ होला अर्को ? सुरभित शरद्-सन्त जतिको॥





