दुर्गा वनवासी
भानुको सालिकमुन्तिर भानुजयन्ती मनाउनेहरुको घुइँचो थियो । विशिष्ट व्यक्तित्वहरुबाट भानुको सालिकमा माल्यार्पण गरी कार्यक्रमको श्रीगणेश भयो । सालिकछेउकै खुला चौरमा पाल टाँगेर बनाइएको अस्थायी हलमा कार्यक्रम सम्पन्न हुँदैथियो । मन्चमा आसीन गरिमामय व्यक्तित्वहरु भानुको जीवनी, योगदान र कृतिहरुमाथि प्रकाश पार्दैथिए । बोल्ने शैली र स्वर पृथक भए पनि लगभग तिनै विषयवस्तुहरु दोहोरिन्थे । हेर्दाहेर्दै एउटा एउटा वहानामा लगभग आधा हल खाली भइसकेको थियो । मन्चमा आसीन अतिथिहरु चाहिँ उँघ्दै भए पनि पालो पर्खिरहेका थिए । उद्घोषक बेलाबेलै औपचारिक कार्यक्रमपछिको सांस्कृतिक कार्यक्रमको प्रलोभनद्वारा दर्शक, श्रोताहरुलाई कार्यक्रममा बाँधिराख्न उद्यत थिए ।
करिब डेढ घन्टाको भानुप्रति श्रद्धान्जली अर्पण गरिएको औपचारिक कार्यक्रमपश्चात उद्घोषकले सांस्कृतिक तथा सांगीतिक कार्यक्रमको उद्घोष गरे । हल फेरि खचाखच भरियो । भाषासँगै संस्कृति र संगीत पनि जोडिएका हुन्छन् र संगीतको कुनै भौगोलिक या भाषिक सिमाना हुँदैन भन्दै उद्घोषकले व्याख्या गरिदिएपछि कार्यक्रमको बन्देज खुकुलो भयो । हेर्दाहेर्दै अंग्रेजी र हिन्दी गीत र नृत्यहरुले भरपुर मनोरंजन दिन थाले । दर्शक दीर्घाबाट वाहवाह र तालीका गड्गडाहटसँगै जोशिएका कति त मन्चमै पुगेर नाच्न थाले भने कति बसेकै ठाउँमा उठेर हल्लिन थाले । समग्रमा कार्यक्रम निकै रोचक तरिकाले सम्पन्न भयो।
माला लगाए, ताली बजाए
श्रष्टाको सालिक भव्य सजाए
विदेशी बाजा, स्वदेशी गोडा
सर्जक र श्रद्धा दुवै लजाए ।
कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…