
कमल प्रसाद बगाले रेग्मी
वालिङ्ग बजार स्याङ्जा
“एउटा कुरा थाहा पाउनु भयो मम्मी ?” सानी नौ बर्षे छोरी सन्ध्याले स्कूलबाट बोकेर आएको गह्रुङ्गो झोला बिसाउँदै भनिन्। “के कुरा हो र सन्ध्या ? हामीलाई त केही पनि थाहा छैन नि नानु” सन्ध्याका बाबा प्रमोद बोले।
“अब फेरि अस्ति भन्दा ठूलो चार दिन सम्म लगातार असिना र पानी पर्ने रे सर मेडमहरु यस्तै कुरा गर्दै हुनुहुन्थ्यो, मोबाइलमा देखाएको छ रे,फेरि चार दिन छुट्टी हुने रे” सन्ध्याको बोलाईमा डर र पीडा थियो।
“मौसम विदको हवाला दिएर संसारलाई नै आतंकित पार्ने भ्यूज बटुल्नको लागि जस्तो पनि मिथ्या झुठो समाचार सम्प्रेषण गर्ने माथि किन कार्यवाही हुँदैन ? सर्वत्र छरिएका सामाजिक सञ्जाल पनि यस्तै समाचार बढ्याईं चढ्याईं गरेर छाप्छन् “मन मायाँ निकै उफ्रिन।
“आकाशमा बादल लाग्दैमा अनेक थरी समाचार सम्प्रेशण गरेर ,लौ अब ठूलो हुरी बतास,असिना पानी आउने रे नदी किनार तटीय क्षेत्रमा बस्ने होसियार भनेर, सुरक्षित ठाउँमा सार्नु होला ,स्कूल कलेज बन्द भन्ने जस्ता कपोलकल्पित समाचार मोबाइलमा राखेर सबैलाई अत्याउने कार्य धेरै भएको छ, सरकारले सेन्सर नगरी जनतालाई दुःख दिने,भ्रम छर्ने हरु सबै माथि कार्यबाही गर्दै प्रतिबन्ध लगाउनु पर्छ,यति साना बाल बच्चालाई भय सिर्जना गरेर बच्चा हरूको बाल मस्तिष्कमा डर एवं चोट पुर्याउने कार्य भएको छ, अविलम्व यस्ता सञ्चार साधनहरूमा अंकुश लगाउनु पर्छ।” प्रमोद पनि निकै तातेर बोले।
“हजुर सत्य भन्दै हुनुहुन्छ प्रमोद भाइ, बिना सेन्सर जनतालाई आतंकित पार्ने समाचार सम्प्रेषण गर्न पाइँदैन भनेर सरकारले अंकुश लगाउनु पर्छ,अहिलेको छाडा खुला सञ्चार प्रयोगले समाजमा अत्यन्तै गलत समाचार, उत्छृंखल क्रियाकलाप मोबाइलमा राखेर ,धर्म,कला,संस्कार र संस्कृति माथि पनि निकै प्रहार भएको छ,सरकारमा बस्नेहरूले मौन छन्” बले दाइको उत्तर थियो।





