सुखद क्षण


प्रेम पुन मगर
ढोरपाटन नगरपालिका ४ बागलुङ
हाल पोखरा जिमिरे

“बाबा, म छिट्टै आउँछु है…” स्क्रिनबाट मुस्कुराउँदै छोरोले भन्यो।
बृद्ध बुबाले काँपेको हातले मोबाइल समाते— “छिट्टै भनेको कति छिट्टै हो र छोरा?”
छोराले हाँस्दै भन्यो— “यो प्रोजेक्ट सकिएपछि… अनि पक्का।”
“तँ नआए पनि… तेरो आवाजले घर त भरिन्छ,” बुबाले ढाँट्दै भने।
उता स्क्रिनमा हतार थियो— “ओके बाबा, मिटिङ छ… पछि कुरा गरौँला।”
क्लिक। कोठा फेरि सुनसान भयो।
बुबाले मोबाइल छातीमा टाँसे— “आवाजले त घर भरिन्छ रे… तर काख किन खाली लाग्छ?”
त्यसैबेला, ढोकामा हल्का ढकढक भयो।
बुबाले ढोका खोले— सामुन्ने उभिएको थियो… उही अनुहार।
“सरप्राइज, बाबा!” छोरो हाँस्दै भित्र पस्यो।
बुबाको आँखाबाट आँसु झर्यो— “तँ त भर्खर मिटिङमा जान्छु भन्थिस्…त ?”
छोराले बुबालाई अँगाल्दै भन्यो— “सबैभन्दा ठूलो मिटिङ त यही रहेछ, बाबा— तपाईँसँग।”
घर आज साँच्चै भरिएको थियो— आवाजले होइन, उपस्थितिले।