
राजान कार्की पाजु
“श्री कृष्ण गोविन्द हरे मुरारे !”,
“गंगे हर पाप हर,दु:ख हर!”,”ओम नम शिवाय!”
“हर हर महादेव!”
आज शिवरात्रीको दिन भगवानको नाम पुकार्दै कोही नुहाउदै थिए, कोहि पानी चढाउँन मन्दिर छिर्दै थिए। सबैलाई चटारो देखिन्थ्यो भगवानको दर्सन गर्न।
आफु वढी भक्तालु हुन कसैले कुनै कसर बाँकी छोडेका थिएनन्।
एकाविहानै कैलासवाट मर्त्यलोक तिर नियालीरहेका पार्वतीले महादेव तिर फर्केर भनिन्- “यो मौसमको पर्वाह नगरी यी भक्तालुहरु भगवान प्रति कति निष्ठावान देखिन्छन्। यिनीहरू सबैलाई स्वर्गको हकदार बनाइयोस् प्रभु !”
“स्वर्ग प्राप्त गर्न त्यति सजिलो छैन प्रिय! यिनीहरू सवैले स्वर्ग प्राप्त गर्न सक्ने छैनन् ।” पार्वतीलाई सम्झाउँदै महादेवले भने।
“हे, देव! आफ्नै आँखाले देखिरहनुभएको छ, तैपनि स्वर्ग प्राप्त गर्न यहाँ भन्दा बढी कस्तो तप गर्नु पर्दछ त !”
पार्वतीले पति देवको भनाइप्रति असन्तुष्ट व्यक्त गरिन्।
अलिपरको एउटा दृष्य देखाउँदै महादेवले भने- उ त्यहाँ नजर लगाउ त प्रिय, के भैरहेजस्तो छ त्यहाँ !”फोहोर थुपारेको दलदल परेको खाल्डोवाट एउटा जिर्ण मानिस बाहिर निस्कन सबैसँग हार गुहार गरिरहेको थियो!
कसैले वास्ता नै गरेनन्, कसैले देखे नदेखे झैँ गरे। कोही “हेर कस्तो फोहोरी ” भन्दै छिःछीः दुर्दुर गर्दै हिँडे। कोही “हेर! एकाविहानै के देख्न परेको यस्तो,कस्तो पापी रहेछ ? कुन जुनिको पाप भोग्न परेको यसले !” भन्दै नाक थुन्दै गए।
यस्तैमा एउटा बृध्द मानिस आईपुग्यो, उसको नजर त्यो खाल्डोमामा पर्यो, सबैलाई सहयोगको लागि बिन्ति गर्यो तर कसैले वास्ता गरेनन्।
बृद्ध थरथर काँप्दै लडखडाउँदै आफ्नो लाठीको सहायताले सकि नसकि उस्लाई खाल्डोवाट बाहिर निकाली दियो र
“जय शम्भो !” भन्दै आफ्नो बाटो लाग्यो।
महादेवले मुस्कुराउँदै पार्वती तिर फर्केर भने- “देख्यौ त पार्वती?”





