
बिन्दु पाैडेल वस्ती
भरतपुर -२, चितवन
आठ वर्षको नाति बिनितले आफ्नो हजुरबुवालाई सोध्यो, “हजुरबुवा ! आज त रोपाइँ गर्ने दिन हो रे ! दही- चिउरा खाने दिन हो रे नि त ! हाम्रो खेत त वनमारा झारले ढाकिएको छ नि ।”
हजुरबुवाले टाढा नजर लगाउँदै केही क्षण टोलाएर भने, “बाबु नाति ! हाम्रो धान रोप्ने हातहरू त खाडी, कोरिया र जापानतिर हानिए । यहाँ त हामी बुढाबुढी र तिमीहरू जस्ता केटाकेटीहरू मात्रै छौँ अनि किन वनमारा नमौलाओस् त । त्यही बेला विदेशबाट मोबाइलमा भिडियो कल आयो । दिनभरिका थकानसँगै साँझ कोठामा आएर दही-चिउराको प्लेट देखाउँदै छोराले भने, “आज त किसान दिवस रे । त्यही भएर मैले दही- चिउरा खाएर किसान दिवस मनाएको।”
विनितले घर अगाडिको बाँझाे खेत देखाउँदै भन्यो, “बुवा ! यहाँ किसान दिवस मनाउने किसान नै छैनन् रे नि हजुरबुवाले भन्नुभएको।”
छोराको अभिव्यक्तिले अवाक् भएका बुवा केही क्षण मौन रहे। उनको आँखाभरि आँसु टिलपिल टिलपिल भयो । बुवाले छोरालाई यथार्थ खुलाउँदै भने, “बाबु छोरा ! दही- चिउरा एउटा परम्परा हो । त्यसको आत्मा भनेको त खेतमा पसिना बगाउने किसान हो । खेत बाँझाे भयो भने पर्वको स्वाद पनि बेस्वादिलो हुन्छ । प्रदेशले जुटाएको गाँसमा स्वाद हराएको हुन्छ।”
पर बसेको छोरो बिनित दौडिएर आयो र मोबाइल समाउँदै भन्याे, “बुवा ! बुवा !! हजुरले कसम खानु त । अब विदेशमा बसेर होइन, नेपाली हिलोमा खेलेर दही -चिउरा स्वाद लिन्छु भनेर।”





