“वर्षा हो दैव भूमिको”

धानदिवस साथै असार १५ को शुभकाना सहित…..


गणेश आत्रेय
मदनपोखरा,पाल्पा

बर्स्यो असार आएर ढाकी अकासमा घटा।
धर्ती मख्ख परी हाँसिन् फेरिन् सौन्दर्यका छटा॥

उर्लिए खहरे खोला बढे नद नदीहरू।
फुटे मूल झरे झर्ना भरिए पोखरीहरू॥

वन बाग सबै हाँसे पाखा खेत हराभरा।
किसान कर्ममा व्यस्त पस्त छन् निम्छरा बरा॥

पृथ्वीको रूप देखेर छक्क पर्छन् शशी रवि।
मसक्क मस्किँदै धर्ती आफ्नै नियाल्दछिन् छवि॥

स्वर्गङ्गाझैँ झरी झर्छ दिन्छ शीतल शानको।
ग्रीष्मको निम्ति यो वर्षा आनन्दी अनुमानको॥

वनस्पति सपारेर लता वृक्ष फुलाउँछ।
पोसिला फल खाद्यान्न झरीले नै झुलाउँछ॥

झरी हो सृष्टिको सार हवा माटो शशी रवि।
भूमि आकाश आधार जीव चैतन्यको हवि॥

महादेव कुनै जप्छन् कुनै वरुण इन्द्रको।
जोसुकै जेसुकै ठानून् वर्षा हो दैव भूमिको॥