जिम्माल बाको जुक्ती


युगल बसेल
सन्धिखर्क ( हाल : चन्द्रागिरी ११ )

उहिले खाँची लेकको फेदीमा रहेको गाउँमा एकजना ठेप्सिङ्गे नामको मान्छे बस्ने गर्थ्यो । उसको परिवारमा एउटी श्रीमती र नमस्ते नामकी छोरी थिए। सानैदेखि नै ऊ निकै बलियो र साइँदुवा खालको स्वभाव भएको मान्छे थियो। आफ्नो बलमा उसलाई असाध्यै घमण्ड थियो। उसित टक्कर लिन सक्ने जोरीपारीका गाउँमा कोही पनि थिएन । मैमत्ता छाडा साँढेको जस्तो उसको स्वभाव थियो । गाउँलेहरूलाई उसले दिनसम्म दुःख दिएको थियो। कहिले कसैका
कुखुरा चोर्थ्यो त कहिले गाउँलेका बारी बगैँचाका फलफुल टिपेर खाइदिन्थ्यो। कहिलेकाहीँ त गाउँलेका घरमा पसेर घिउ, मह पनि कब्जा गर्थ्यो। अरुले आर्जन गरेका पोसिला कुराहरू खाएर ठेप्सिङ्गे झन् पछि झन् अजङ्गको बलियो हुँदै गएको थियो।
ठेप्सिङ्गेको अत्याचार गाउँमा बढ्दै गयो। त्यसैले उसबाट कसरी छुटकारा पाउने होला भन्ने चिन्ताले गाउँलेहरूको मनमा जरा गाड्दै गयो । एक दिन ठेप्सिङ्गे बजार गएको मौका पारेर गाउँलेहरूको कचहरी बस्यो । टिपनले कुरो निकाल्दै भन्यो – “आगो ताप्नु मुढाको , अर्ती सुन्नु बुढाको भन्छन् । ठेप्सिङ्गेको अत्याचारबाट छुटकारा पाउने उपाय त जिम्माल बाले नै निकाल्न सक्नुहुन्छ।”
उसको भनाइमा अरुले पनि होमा हो मिलाए। जिम्माल बा आफ्ना सेतै फुलेका जुँगा मुसार्दै एक छिन घोरिए । घोरिँदा घोरिँदै जिम्माल बाको मगजमा एउटा जुक्ति फुरिहाल्यो । औँलो ठाडो पार्दै उनले भने – “सबैले ध्यान दिएर सुन , बलले पन्छाउन नसकिने पापीलाई छलले पन्छाउनुपर्छ ,हो कि होइन ?” सबैले एक स्वरमा  “हो ,जिम्बालबा हो” भने।
जिम्माल बाले अगाडि भने- ठेप्सिङ्गे आफ्नी एक्ली सन्तान नमस्तेलाई अचाक्ली माया गर्छ, हो कि होइन ?”
सबैले ´हो `भने ।
“त्यसै नमस्तेलाई निसाना बनाएर हामीले यस काँढाको घोचाइलाई पन्छ्याउनुपर्छ” भन्दै मसिनो आवाजमा उनले सबैलाई जुक्ति सुनाए । “क्या बात जिम्माल बा” भन्दै सबैले उनको जुक्तिको तारिफ गरे ।
जिम्माल बाको जुक्तिअनुसार भर्खर दस वर्ष पुगेकी? श्रद्धालाई देवीको रूपमा सिँगारियो। उनलाई साँझ बिहान ठेप्सिङ्गेले थाहा नपाउने गरी गाउँकै मन्दिरमा लैजाने र एक घण्टा पछि फर्काउने गर्न थालियो। मन्दिरमा बालादेवी आएकी छन् , उनले जोसुकैको अघिको र पछिको सबै कुरा ठ्याक्कै मिलाएर बताउन
सक्छिन् भन्ने हल्ला गाउँभरि फिँजाइयो।
यो हल्ला ठेप्सिङको र उसकी श्रीमतीको कानमा पनि पर्‍यो। नमस्तेकी आमालाई समेत आफ्नो र परिवारको आउने समय कस्तो छ , भाग्य कस्तो छ भन्ने कुरा सोध्न मन लागेकोले उनले ठेप्सिङेलाई बालिका देवी भएको ठाउँमा
जाउँ भनेर जिद्दी गरिन् । ठेप्सिङ्गेले आफ्नी प्यारी श्रीमतीको जिद्दी टाल्न सकेन । एकदिन श्रीमती र छोरी नमस्तेसहित बालिका देवी बनेकी श्रद्धालाई भेट्न ऊ मन्दिरमा पुग्यो र आफ्नो भाग्य बताइदिन बिन्ती गर्‍यो।
बालिका देवीको रूप लिएकी श्रद्धाले “पहिले आमा छोरीलाई बाहिर पठाऊ अनि बताउँछु” भनिन् । ठेप्सिङ्गेले बालिका देवीको आदेशअनुसार आमा छोरीलाई बाहिर पठायो। यसपछि बालिका देवीले ठेप्सिङ्गेका हातका धर्काहरू हेर्दै भनिन् -“अरू त तिम्रो सबै राम्रो छ । एउटा कुरा भने डरलाग्दो रहेछ।”
केही खुल्दुली र केही चिन्ताका साथ उसले के हो त्यो डरलाग्दो कुरा भनेर सोध्यो।
“अब लेखिएको कुरा भन्नै पर्‍यो । तिम्री छोरी अल्पायुकी रहिछन् । उनको बाँच्ने समय अब एक वर्ष मात्रै बाँकी छ।”
बालिका देवीको मुखबाट यो अत्यन्त दुःखलाग्दो भविष्यवाणी सुनेर ठेप्सिङ्गे छाँगाबाट खसेजस्तै भयो । उसका खुट्टा लुला भए, नौ नारी गले । ऊ थरथर काम्यो । अचानक अँध्यारोले उसलाई जताततैबाट गाँजेजस्तो अनुभव भयो ।
उसलाई भाउन्न छुट्यो र चक्कर आउला जस्तो भयो । गाउँलेहरूले बयान चलाएकी बालिका देवीको बोलीमा उसले शङ्का गर्ने ठाउँ पनि भेटेन । उसलाई आफ्नो घाँटी कसैले बडो जोडले अँठ्याइदिएको जस्तो र श्वास फेर्ने गाह्रो
परेजस्तो अनुभव भयो।
झिनो आशा मनमा सँगालेर उसले छोरीको मृत्यु टार्ने केही उपाय छ कि भनेर बालिका देवीलाई सोध्यो । भावीले लेखिदिएको कुरा कसैले टारेर नटर्ने कुरा बालिका देवीले उसलाई बताइन् ।
ठेप्सिङ्गे अत्यन्त निराश हुँदै मन्दिरबाट बाहिर निस्कियो । धेरै कोसिस गर्दाखेरि पनि लुकाउन नसकेको उसको निराश अनुहार पढेर नमस्तेकी आमाले सोधिन् – “किन तपाईँको अनुहार मलिनो देख्छु ? बालिका देवीले केही अनिष्ट कुरा बताइन् र ?”
उसले आफ्नो अनुहारमा पोतिएको निराशाको भावलाई लुकाउने असफल प्रयत्न गर्दै भन्यो – होइन , त्यस्तो केही छैन , भविष्य राम्रै छ भनेकी छन् ।”
त्यसपछि छोरीलाई अँगालोमा बेरेर उसले गाला सुमसुमायो। ´मेरी प्राणभन्दा
प्यारी छोरी , तिमी मबाट कहिल्यै टाढा नहौऊ है ` भन्दै छोरीको गालासित
आफ्नो गाला जोड्यो। आमाछोरीले उसको आशय बुझ्न सकेनन् । छोरीप्रतिको
बेजोड माया पोखिएको हो भन्ने मात्रै उनीहरुले बुझे ।
यस घटनापछि दिनदिनै ठेप्सिङेको व्यवहारमा अनौठो परिवर्तन आउन थाल्यो ।
उसलाई खानमा रुचि भएन । बाहिरफेर हिँड्न पनि मन लागेन। मनमनै उसलाई पछुतोको अनुभव हुन थाल्यो । गाउँलेहरूलाई सताएको पापले पो यस्तो कहालीलाग्दो भाग्य उसले बेहोर्नुपर्ने अवस्था आएको हो कि भन्ने कुरा उसको
मनमा खेल्न थाले। गाउँलेहरूमाथि उसले गर्ने अत्याचार एकाएक शून्यमा ओर्लियो। गाउँलेहरूले बडो राहत अनुभव गरे।
एक दिन कुनै छलफलका लागि गाउँलेहरू भेला भएको बेला निन्याउरो अनुहार लिएर ऊ तिनीहरूका सामु पुग्यो र गहभारी आँसु पार्दै भन्यो – “मेरा बाआमा दाजुभाइहरूहो , मैले तपाईँहरूमाथि ठूलो अन्याय गरेँ, अत्याचार गरेँ। म पापी हुँ , दुष्ट हुँ । तपाईँहरूसित माफी माग्ने हक त मलाई छैन । अहिले म ठूलो पछुतोमा छु । अब म तपाईँहरू कसैलाई पनि सताउन्नँ , दुःख दिन्नँ। तपाईहरूले मबाट पाएभन्दा ठूलो पीडा मेरो जिन्दगीमा आउँदै छ । तपाईँहरूको आँसुले मलाई पोलेर खरानी बनाउँदैछ । अब कसैले पनि मैले जस्तो कुकर्म नगरोस् नत्र उसलाई पनि मैले जस्तै सराप बेहोर्नु पर्नेछ।”
उसको यस्तो टिठ लाग्दो बोली सुनेर त्यहाँ भएका सबैको मनमा दया पलायो । जिम्माल बाले उसलाई ढाडस दिँदै भने – “निराश नहोऊ बाबु , तिम्रो दुःख संकट हटोस् भनेर हामी सबैले थानमानका देवता , देवी देउराली , कुलदेवता र
मन्दिरकी कालिका देवी सबैसित भाकल गर्छौं । हाम्रो भाकलले पक्कै पनि तिम्रो संकट टर्छ , ढुक्क होऊ ।”
जिम्माल बाको कुरा सुनेर डुब्न लागेका मान्छेलाई सिङ्काको पनि सहारा हुन्छ भनेझैँ गरेर उसको मनमा मसिनो आशा पलायो। तपाईंहरूको भाकल पूरा होस् आशीर्वाद फलिफाप होस् भनेर जम्ले हात गर्दै बिदाबादी भएर ऊ आफ्नो घरतिर लाग्यो ।
जिम्माल बाको जुक्तिले ठूलो काम गरेकोले सबैले उनको तारिफ गरे ।
एक वर्ष पुगी सक्दा पनि छोरी सारसौँदो , निरोगी र हट्टाकट्टा नै रही । उसले गाउँलेहरूको भाकलले गर्दा नै अनिष्ट हुन पाएन भन्ने बुझ्यो र अब उपरान्त कसैको कुभलो नगर्ने बरु सक्दो सहयोग गर्ने बाचा गर्‍यो । गाउँलेहरू ठूलो कसलाबाट छुटकारा पाइयो भनेर ज्यादै खुसी भए ।